PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

सरकारका मन्त्री र सांसदहरुले आचारसंहिता उल्लंघन गरेपछि आयोगको ध्यानाकर्षण



पहिलोपोस्ट

सरकारका मन्त्री र सांसदहरुले आचारसंहिता उल्लंघन गरेपछि आयोगको ध्यानाकर्षण

काठमाडौं :  निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटना नखुलाईकन सरकार मातहतका निकायलाई निर्वाचन आचारसंहिता अनुकूलको आचारणमा रहन पुनः आग्रह गरेको छ।
 
प्रधानमन्त्रीदेखि मन्त्री, सांसद् र अन्य पदाधिकारीले निर्वाचन आचारसंहिता उलंघन गरेपछि आयोगले पुनः सरकारको ध्यानाकर्षण गराएको हो। निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रीहरु र सांसदहरुले आचारसंहिता विपरीतका गतिविधि कायम राखेपछि घटना तथा व्यक्ति उल्लेख नगरी आचारसंहितामा रहन आग्रह गरेको हो।
 
'निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सबैमा पुनः अनुरोध' भन्दै आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएक छ, 'निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्न अपरिहार्य भएको हुँदा निर्वाचन आचारसंहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ।'
 
आयोगले 'आगामी २०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ यही २०७३ साल फागुन १८ गतेदेखि लागू भएको व्यहोरा सबैमा विदितै छ' भन्दै सरकार र मातहतका निकायको ध्यानाकर्षण गरेको छ।
 
'उक्त आचारसंहिताको पालना गर्ने गराउने कार्य विभिन्न मन्त्रालय, निकाय, राजनीतिक दल एवं संघ संस्थाहरुबाट भइरहेको छ भन्नेमा आयोग विश्वस्त रहेको छ,' आयोगले विज्ञप्तिमा भनेको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने भन्दै आचारसंहिता अनुकूलको आचरणमा खलल पार्ने कुनै किसिमका कार्य नगर्न/नगराउन नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय, विभिन्न संघ संस्था, सुरक्षा निकाय र राजनीतिक दलहरुमा आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell