PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

व्याकुल माइला गोल्डकप चैत २५ देखि ओखलढुंगामा



पहिलोपोस्ट

व्याकुल माइला गोल्डकप चैत २५ देखि ओखलढुंगामा

काठमाडौं : व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत २५ गतेदेखि ओखलढुंगामा हुने भएको छ।
 
विगतमा कोजाग्रत पूर्णिमादेखि प्रतियोगिता हुँदै आएकोमा यस वर्ष दूधकोसीको भेलले मैदानमा क्षति पुर्‍याएका कारण मर्मतका कारण सारिएको आयोजकले जनाएको छ।
 
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा हुने गोल्डकप उनको जन्मथलो ओखलढुंगा हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ। दूधकौशिका प्रावि, नयाँ नेपाल सराकार समाज, हिलेपानी फुटबल क्लब लगायत विद्यालय तथा संघसंस्था आयोजक छन्।
 
हिलेपानी फुटबल क्लबका कोषाध्यक्ष रमेश राईले गोल्डकप कार्यक्रम खेलकुदको मात्र नभई त्यस क्षेत्रको समग्र विकासका निम्ति आयोजना गर्ने गरिएको बताए। 'तर, भौतिक पूर्वाधार मात्र होइन, आवश्यक आर्थिक स्रोत अभावले समेत प्रतियोगिता नियमित गर्न सकिएन,' कोषाध्यक्ष राईले भने।
 
पूर्वराष्ट्रिय खेलाडी सुन्दर थापा स्रोत अभाव भएर कार्यक्रमको निरन्तरतामा चुनौती आउनु दुःखद् भएको बताउँछन्।
 
प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायत जिल्लाबाट १६–१७ टिमको सहभागिता हुँदै आएको छ।
 
यसैबीच कलंकीस्थित नेपालय कलेजले १ लाख ३० हजार रुपैयाँ मूल्यको १ सय थान ट्र्याक सुट उपलब्ध गराएको छ।

राष्ट्रिय गानका रचनाकार माइलाको उपस्थितिमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा कलेजका प्राचार्य मनोज थापा मगरले गोल्डकपको निरन्तरताका लागि आफू सदा सकारात्मक रहने प्रतिबद्धता जाहेर गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell