PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देही-११ लाई, संकटा सडनडेथमा पराजित



पहिलोपोस्ट

नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देही-११ लाई, संकटा सडनडेथमा पराजित

नेपालगन्ज : दोस्रो टुवोर्ग नेपागन्ज गोल्डकप फुटबलको उपाधि रुपन्देही-११ ले जितेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा काठमाडौंको सिएमजी क्लब संकटालाई सडनडेथमा पराजित गर्दै मोफसलको रुपन्देहीले सिजनको दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको हो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा सिधै ट्राइबेकरबाट लिइएको हो।

त्यसअघि खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा शिव सुवेदीले रुपन्देही-११ का लागि बराबरी गोल फर्काएका थिए। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि ६५ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै संकटालाई पहिले अग्रता दिलाएका थिए। तर संकटाले उक्त अग्रतालाई अन्तिममा कायम राख्न नसक्नु नै हारको कारण बन्यो।

जितसँगै रुपन्देहीले बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा संकटा विरुद्ध बेहोरेको हारको बदला समेत लिएको छ। धरानमा संकटाले रूपन्देहीलाई २–१ ले पराजित गरेको थियो।

रुपन्देहीले एक महिनाअघि उदयपुर गोल्डकपको उपाधि जितेको थियो। सुरुङगा गोल्डकपको पनि फाइनल पुगेको रुपन्देही टाइब्रेकरमा एपिएफसँग पराजित हुँदै उपविजेता बनेको थियो।

यता संकटा क्लबले भने यस सिजन फाइनल खेलेको यो सातौ पटक हो। क्लबकै पूर्वखेलाडी सल्यान खड्गीको प्रशिक्षणमा संकटाले विकास रनिङ शिल्ड, तिलोत्तमा गोल्डकप र सिमरा गोल्डकप फुटबलको उपाधि जितेको थियो भने  राइनो गोल्डकप, खप्तड गोल्डकप र  बूढासुब्बा गोल्डकपमा भने संकटा उपविजेतामा बनेको थियो।

उपाधिसँगै रुपन्देहीले नगद ५ लाख हात पारेको छ भने उपविजेता संकटाले २ लाख ५१ हजार प्राप्त गर्‌यो।

रुपन्देहीका अमर डंगोल प्लेरयर अफ दी टुर्नामेन्ट घोषित भए। उनले एक थान मोटरबाइक हात पारे।

यस्तै व्यक्तिगत विधातर्फ संकटाका अजय महर्जन बेस्ट गोलकिपर, माउसा बेस्ट डिफेण्डर, मार्टिन बेस्ट फरवार्ड तथा सल्यान खड्गी बेस्ट कोच घोषित भए भने रुपन्देहीका गौरव मगर बेस्ट मिडफिल्डर चुनिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell