PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​दलहरुबीचको विवादले बैतडीमा मतदान केन्द्र सिफारिस भएन



रासस

बैतडी : मतदान केन्द्र निर्धारणका विषयमा राजनीतिक दलबीच सहमति हुन नसक्दा बैतडीमा मतदान केन्द्र सिफारिस गर्न सकिएको छैन। 

दलले विसं २०७० मा तय भएका मतदान केन्द्र बदल्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। दलका प्रतिनिधिले २०७० सालको भन्दा १० वटा केन्द्र थप्नसमेत माग गरेका छन्। 

मतदान केन्द्र सिफारिस समितिको बैठकमा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतदान केन्द्र परिवर्तनको माग गरेको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । उनले भने ‘डिलासैनी गाउँपालिका, पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा मतदान केन्द्र साबिकको भन्दा परिवर्तन गर्नुपर्ने आवाज उठेको छ। तर निर्वाचन आयोगले अवस्था हेरेर दुई–चारवटा मतदान केन्द्र मात्र थप्न भनी निर्देशन दिएको छ।’

विवाद देखिएका ठाउँमा स्थलगत अध्ययन गरी मतदान केन्द्र सिफारिस समितिको बैठक बसी टुङ्गो लगाउने उनले जानकारी दिए। बैतडीमा विसं २०७० मा संविधानसभाको निर्वाचनमा रहेका एकसय २० मतदान केन्द्रको एकसय ८८ स्थल तय गरिएका थिए। 

स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपािलका र ६ गाउँपालिका सिफारिस गरेको छ। जिल्लामा ६५ हजार नौसय ३२ महिला, ६२ हजार आठसय ५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार सात सय ८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। 

आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन्। आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell