
काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न रुटमा सेवा दिइरहेको साझा यातायातले भक्तपुरमा सेवा विस्तारका लागि रुट अनुमति मागेको छ। साझाले रुट इजाजतका लागि यातायात व्यवस्था विभागमा आवेदन दिएको साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए।
तर, साझाको प्रस्तावमा भक्तपुरका यातायात व्यवसायीले विरोध गर्दै आएका छन्। व्यवसायीले साझाको अनुमति रोक्न यातायात व्यवस्था विभागमा ज्ञापन पत्र समेत बुझाएका छन्।
साझाको प्रस्ताव अनुसार काठमाण्डौको कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–सुन्धारा तथा रत्नपार्क हुँदै पुतलीसडक–सिहदरबार–माइतीघर–बबरमहल नयाँ बानेश्वर हुँदै भक्तपुरको रुट मागेको छ।
दश वटा बसहरु जडिबुटीको रुट भएर पुरानो ठिमी हुँदै कमलविनायकको बाटो फर्कने माग साझाको छ। अन्य दश बस भने जडिबुटीबाट नयाँबाटो, कमलविनायक हँुदै पुरानो बाटोबाट फर्कनेछन्।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले प्रतिस्पर्धाबाट कम्पनी मोडलमा दर्ता भई नियमपूर्वक आए इजाजत दिने सरकारी प्रावधान रहेकाले साझाले भक्तपुरको रुटमा इजाजत पाउने बताए। उनले आवश्यक प्रक्रिया पूरा भएपछि अनुमति दिइने बताए।
गत दशै अगावै भक्तपुरमा साझा बस चलाउने भनिए पनि प्रक्रियामा भएको ढिलाईका कारण रुट अनुमति माग्न ढिला भएको हो। असोजमा नै साझाले रुट अनुमति माग्ने निर्णय गरेपछि भक्तपुरका यातायात व्यवसायीले साझालाईरुट दिन नहुने निष्कर्ष निकालेका थिए।
भक्तपुरकै व्यवसायीको एक हजारभन्दा बढी गाडीहरु सञ्चालनमा रहेकाले साझाका बसहरु भक्तपुरको रुटमा विस्तार गरे आफुहरु विस्थापित हुने भन्दै विरोध गर्दै आएका छन्। यस रुटमा चल्ने गाडीमा लगभग ३ हजार व्यवसायी र पाँच हजारभन्दा बढी ड्राइभर र सहचालकहरु निर्भर हुँदै आएका छन्।