1.jpg)
काठमाडौँ : नेकपा एमालेले मेचीकाली अभियानको क्रममा प्रदेश नं २ मा रोकिएको कार्यक्रम फरक स्वरुपमा गर्ने जनाएको छ। सप्तरीको राजविराजमा २३ गते गोली प्रहारको घटनापछि एमालेको मेची काली अभियान तीन दिन रोकेको थियो। साथै एमालले प्रदेश २ मा तय भएका कार्यक्रम स्थगित गर्दै हेटौँडाबाट तीन दिनपछि अभियान जारी राखेको थियो।
अभियानको समाप्तीसँगै एमाले अध्यक्ष केपी ओलीले जारी गरेको विज्ञप्तिमा फरक स्वरुपमा कार्यक्रम गर्ने उल्लेख छ।
‘स्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर तत्कालका लागि स्थगन गरिएको प्रदेश नं २ मा नया स्वरूपमा विशेष कार्यक्रम छिटै सञ्चालन हुने जानकारी गराउन चाहन्छु’, ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मधेसी मोर्चा गतिविधिमा अपराध र राजनीतिको सीमारेखा मेटिँदै गएको आरोप ओलीले लगाएका छन्। ‘मधेसी मोर्चाको काँध विभिन्न खाले विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडको रूपमा प्रयोग हुँदै जानु निकै दुखद र चिन्ताको बिषय हो’, विज्ञप्तिमा भनिएको छ।
सरकारको आलोचना
नेकपा एमालले प्रचण्ड सरकारको गठनसँगै मत्थर भइसकेका जातीय र क्षेत्रीय अतिवाद् र सामाजिक विद्वेषहरूले शिर उठाउन थालेको विश्लेषण गरेको छ। ‘कतिपय तत्वहरू खुलेआम मुलुकलाई विभाजन गर्ने घोषणा गर्दै यसका लागि हिंसात्मक हर्कत समेत गरिरहेका छन्। यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार तिनैलाई प्रोत्साहन गरिरहेको छ’, विज्ञप्तिमा सरकारको आलोचना गर्दै भनिएको छ। ओलीले विज्ञप्ति मार्फत निर्वाचनको घोषणा भइसकेपछि वर्तमान सरकारले जथाभावी बजेट रकमान्तर गर्ने, आफ्ना कार्यकर्ता पोस्ने र निर्वाचनलाई प्रभावित गर्ने गरी राष्ट्रको ढुकुटीको दुरूपयोग गर्ने काम गरेको आरोप लगाएको छ।
ओलीले विज्ञप्तिमा सरकारबाट प्रचलित ऐनलाई छल्ने बदनियतले एनसेलको पूँजीगत लाभकर असुली सम्बन्धी बिषयलाई मन्त्रिपरिषदवाट नीतिगत निर्णय गराई नीतिगत भ्रष्ट्रचार गरेको आरोप लगाएको छ। ‘नीतिगत भ्रष्टाचारप्रति गंभीर आपत्ति प्रकट गर्दै हाम्रो पार्टी मन्त्रिपरिषदवाट भएको उक्त नीतिगत निर्णय तत्काल खारेज गर्न तथा प्रचलित कानुन बमोजिम उक्त कम्पनीसँग लाभकर असुल गर्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।