ठूलो इस्सूमा कामगर्ने भन्दाभन्दै दुई साता त्यत्तिकै बित्यो कनिकाको। काम गर्छु भन्दाभन्दै इस्सूको खोजीमा काम गर्ने फुर्सद नै पाइन उसले। लेख्ने विषयको कमी थिएन। थुप्रै ठाउँमा ‘दुर्भाव' फैलाउन सफल प्रतिपक्षको मेची–काली ‘सदभाव' यात्रा, परिवर्तन गर्न र गराउन नसकेकोमा मधेशको आत्मकेन्द्रित आक्रोश र गुनासो, सरकारको चटके निर्णयका बीच नेपाली समाजको सबै तहमा सबैप्रति फैलिएको अविश्वास। मधेशीहरुको सामान्य घुराइ मात्रैलाई पनि सीमाना बन्द हुन लागेको संकेत हो भन्दै उत्साहित भएर सटर बन्द गर्न तम्सिने पेट्रोल पम्पका मालिकहरु। सटर जति बन्द हुन्छ, नाफा त्यति नै बढी हुन्छ। देश लोडशेडिंग मुक्त भै सकेपछि पनि सडकको छेउमा लागेका सिलिण्डरको लाइनले पनि यिनै कथा कहन्छन्। क्रिकेटको खेलमा जीतको खुशीमा रमाएर पनि रमाउन नसकेका दुःखी आत्माहरु, प्रियंकाको मोमो मेनियामा चन्चल सहभागीहरुको अनुहारमा देखिएको स्वादको खुशी। तैपनि अचारको पीरोले जिब्रो पोलेको कारण अँध्यारोमा विचलित भएका तिनका आँखा।
कनिका बिहानैदेखि विचलित थिइ। उसलाई उसका बाबाले बताएका थिए भयको मनोविज्ञान। बाबाले बताएका सूत्रहरुलाई पछ्याउँदै जाँदा उसले बुझेकी थिई, पत्रकारहरुको मनमा गहिरो डर पसेको छ। उसले सुदिप्तीसंग सोधेकी थिइ, ‘के को डर हो यो? किन कोही केही बोल्न चाहँदैन? साथीहरु कसैसँग पनि केही शेयर गर्न किन चाहँदैनन?'
सुदिप्तीले जवाफ दिएकी थिइ, ‘समाचारको चुरो त तैंले पत्ता लगाइ सकिस त कनि। मानिसहरुको मनमा डर पसेको छ। कसैलाई सुटुक्क केही भन्दा कुनै अर्कोले सुन्यो भने? अझ, कान्तिपुरका घरहरुको त भित्ताको पनि कान हुन्छ भन्छन्। त्यस्तो अवस्थामा कसरी शेयर गर्नु मनको कुरा? धम्की कतैबाट आएको छैन। तर जुनसुकै मौसममा फुल्ने बाह्रमासे फूल हरेक घरका करेसामा फुले जस्तै पत्रकारहरुको मनमा चारैतिरबाट भय घुसेको छ। जीवन मूर्त भएपनि डर अमूर्त छ।'
कनिका कम्प्युटरमा बसी र लेख्न थाली – साँच्चै डराएका छन पत्रकारहरु। आफैसँग र आफ्नैहरुसँग। आफ्ना मानिसहरुले र्याहली निकालेर असंगत काम गरे भनेपनि असंगत लेख्न नपाइने अलिखित नियम जारी भएको छ समाजमा। माया गर्न त त्यसैपनि निषेध छँदैछ। तर, घृणा गर्न निषेध छैन। फोहोरले भरिएको विष्णुमती नदीमा मानिसको कचल्टिएको आत्मा डुबाएर आनन्द लिनेहरुको वर्चस्व वढदो छ। ब्याक्टेरियाहरुको बिगबिगी छ।
कनिकाका औंलाहरु कीबोर्डमा मच्चिदै गए – देशका पत्रकारहरु डराएका छन। उनीहरु किन डराएका छन्? उनीहरुको आँखामा किन मडारिएको छ आशंकाको कालो बादल?
देशमा चुनावको चर्चा छ। प्रमुख प्रतिपक्ष चुनाव बाहेक कुनै अर्को शव्द सुन्न तयार छैन। जनताको टाउकोमा चढी सकेको छ प्रमुख प्रतिपक्षको राष्ट्रवादी भूत। यो बेला चुनाव भए भसक्कै जितिनेछ। चुनावका लागि प्रमुख प्रतिपक्षको दवावमात्रै छैन, निर्वाचन आयोगले यति दिनभित्र घोषणा नभए चुनाव सम्भव छैन भनेको भन्यै छ। अरु त अरु, सत्ता साझेदारले पनि धम्क्याएको छ ‘कि चुनाव घोषणा गर, कि प्रधानमन्त्रीको पद छाड।'
सरकारले दवावै दवावमा चुनाव घोषणा गरेको समयमा पूरै सिभिल पुलिस निमित्त नायकको भरमा छ। देशको सबैभन्दा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु सरकारले नियुक्ति दिएसँगै मुद्दामा तानिएको आइजीपीको बर्दी उतारेर खुशी छन्। त्यो बर्दीलाई आफ्नै इजलासको कीलामा झुण्ड्याएर त्यसमा लागेको इमान र चरित्रको धूलो टकटक्याउँदै छन् श्रीमानहरु। संवैधानिक अंगहरु सबैलाई देश बनाउने हतार छ। बेइमानहरुको विशाल भीडमा आफूलाई इमान्दार साबित गर्न चर्को हर्न बजाइ रहेका चालकहरु दिग्भ्रमित छन। उनीहरुले आफनो गन्तव्य र गन्तव्य सम्म पुग्ने बाटो दुवै बिर्सिएका छन्।
के हुन्छ कसैले भन्न सक्दैन। बैशाख ३१ गतेका लागि निर्धारित चुनाव स्थगित हुन सक्दछ। सरकार बिरामी पनि पर्न सक्दछ। प्रमुख प्रतिपक्षका लागि समय प्रतिकूल भयो भने चुनाव रोकिन सक्दछ। अहिलेको समयमा भयले स्थायित्व पाएको छ। भय, भय, भय। कनिका आफनो स्टोरीमा हेडलाइन हाल्छे – किन एकपक्षीय विचारमा अडकिन थाल्यो स्वतन्त्रता? किन डराएका छन् देशका पत्रकार?
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका थप गाथा