
काठमाडौं : सन् २०१८ मा चीनमा हुने एएफसी यु-२३ च्याम्पियनसिप फुटबल प्रतियोगिताको छनोटको ड्र सार्वजनिक भएको छ।
मलेसियाको क्वाललम्पुरमा शुक्रबार भएको ड्र मा नेपाल वेस्ट जोनतर्फ समूह डी मा परेको छ। नेपाल रहेको समूहमा युएई, उज्वेकिस्तान र लेवनान छन्। यस समूहको छनोट खेल युएइमा हुनेछ। छनोट चरणमा नेपाल पट फोरमा रहेको थियो।
यस्तै एसियाली फुटबल महासंघ (एएफसी) मा आवद्ध का ४० सदस्य राष्ट्र छनोट चरणमा सामेल थिए। त्यसमध्ये वेस्ट र इस्ट जोनमा समान २० टीमलाई राखिएको छ।
सहभागी टीमलाई १० समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि प्रत्येक समूहको विजेता अन्तिम चरणको लागि छनोट हुनेछ। त्यस्तै १० समूहमध्ये उत्कृष्ट ५ उपविजेताले पनि अन्तिम चरणमा स्थान बनाउनेछन्।
यदी आयोजक चीनले छनोट समूहमा भाग लिएको खण्डमा र चीन समूह विजेता तथा उपविजेता मध्ये एक भएमा उपविजेता बन्ने छैटौं टीमले पनि अन्तिम चरणमा स्थान बनाउनेछ।
समूह चरणका खेलहरु जुलाई १९ देखि २३ सम्म सञ्चालन हुनेछ।
यसअघि दुई पटक छनोट चरण खेलेको नेपाल अहिलेसम्म अन्तिम चरणमा पुग्न सकेको छैन। सन् २०१३ मा काठमाडौंमै भएकव छनोटमा नेपालले बंगलादेशलाई मात्र हराएको थियो भने जोर्डन, उज्वेकिस्तान र यमनसँग पराजित भएको थियो।
यस्तै २०१६ मा इरानमा भएको छनोटमा नेपाल आयोजक इरानसँगै साउदी अरेबिया, प्यालेस्टाइन र अफगानिस्तानसँग पराजित भएको थियो।