PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

विद्यालय भवनमा आगलागी भएपछि टहरामा कक्षा सञ्चालन



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) : बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ। 

एक सय ७४ जना बालबालिका अध्ययन गर्ने सो विद्यालयको पाँचवटा कक्षा टहराबाट सञ्चालन भएको छ। कक्षा ४, ५, ६, ७ र ८ का एक सयभन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरेको शिक्षक रामप्रसाद शर्माले बताए। 

टहरामा घामले पोल्ने, पानी पर्दा रुझाउने, किताब, कापी भिजाउने, हावाहुरीले सताउने गरेकाले पठनपाठनमा समस्या पर्ने गरेका छन्। गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो। 

विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा रहेको भवनमा आगलागी हुँदा रु ९२ लाख बराबरको क्षति पुगेको थियो। भवन जलेपछि नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुसँग आबद्ध विद्यार्थीले श्रमदान गरेर अस्थायी टहरा बनाएका थिए। 

बालकक्षा, १, २, ३ कक्षा र प्रशासन अर्को भवनबाट सञ्चालन भएको छ। यसैबीच विद्यालयको भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन पूर्व विद्यार्थीले अभियान सञ्चालन गरेका छन्। 

हाल दक्षिण कोरियामा रहेका पूर्वविद्यार्थी विनोद कुँवरको नेतृत्वमा विश्वका विभिन्न देशमा रहेका डाँडाखेतवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग अभियान सञ्चालन गरेका हुन्। 

प्रअ तीर्थ बानियाका अनुसार हालसम्म १२ लाख सहयोग घोषणा भएको छ। अहिले विद्यालय भइरहेको जग्गामा नयाँ भवन निर्माण गर्न अपुग हुने भएकाले जग्गा व्यवस्थापन, तत्कालीन राहत र भवन निर्माणका लागि स्थानीय स्रोतको पनि खोजी भइरहेको बताए। 

जिल्ला शिक्षा कार्यालय, विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, बेनी नगरपालिकालगायतका निकायमा भवन पुनःनिर्माणका लागि पहल गरिएको शिक्षक शर्माले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell