रोल्पा : गाउँपालिका कार्यालय उद्घाटन गर्न भनी रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा आजै बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए। कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२/१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थिति सिर्जना भएको स्थानीयवासीले बताएका छन्।
बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको कार्यकारी अधिकृत कम्मन गिरीले जानकारी दिए।
गाउँपालिकाको केन्द्र ‘जुगार कि त्रिवेणी’ भन्ने विषयमा लामो समयदेखि विवाद रहेको सो स्थानमा आयोगले पछिल्लो पटक जुगारमा केन्द्र निर्धारण गरेपछि त्रिवेणी पक्षधर आक्रोसित भएकाले सो घटना घटेको बताइएको छ।
असन्तुष्टको विरोधका बाबजूद औपचारिक कार्यक्रमसहित उद्घाटन नभए पनि अन्य काम भने आजैबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए।
सुरुमा असामान्य अवस्थाजस्तो देखिए पनि अहिले भने सुरक्षाकर्मीले अवस्था सामान्य बनाइसकेका छन्, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने- अहिले तिनैजना इलाका प्रहरी कार्यालयको सुरक्षामा छन्।