काठमाडौँ : स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन गर्न सकिने भएकाले निर्वाचनमा सहभागी हुन मधेसवादी दललाई आग्रह गरिएको छ।
रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाल ‘बलदेव’ले निर्वाचन र संविधान संशोधनलाई सँगसँगै अगाडि बढाउने सरकारको योजना रहेको हुँदा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरे।
'संविधान संशोधन गर्नुपर्छ तर संविधान संशोधनको नाममा निर्वाचनको मिति सार्न सकिँदैन, त्यसैले अहिले निर्वाचन र संशोधनबारे वार्तालाई सँगसँगै अगाडि बढाउनुको विकल्प छैन', उनले भने।
नेता खनालले सरकारबाहिर रहेका अन्य दललाई समेत सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको जानकारी दिए।
सद्भाखवना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनपछिमात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै यदि संविधान संशोधनबिना जबर्जस्ती निर्वाचन गरिए मधेसवादी दलले कडा आन्दोलन गर्ने बताए। रासस