
काठमाडौँ : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपालको राजनीतिक घटनाक्रमबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन्। साथै उनले स्थानीय तह निर्वाचनमा सहयोग समेत मागेका छन्।
निधिले संविधान संशोधनको प्रक्रिया, स्थानीय तह निर्वाचनको घोषणा लगायतका विषयमा मोदीलाई जानकारी गराएका हुन्। त्यस्तै उनले निर्वाचनमा आवश्यक सामाग्रीहरुको सहयोग गर्न समेत मोदीलाई आग्रह गरेका हुन्।
निधिका प्रेस सल्लाहकार रामजी दाहालले जारी गरेको प्रेस नोट अनुसार मोदीले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सहयोगको आश्वासन दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीको वेबसाइटमा भने निधिले ‘राजनीतिक ब्रिफिङ’ गरेको उल्लेख छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले भने भेटमा दुई देशको वर्षौ पुरानो सम्बन्धबारे कुराकानी भएको ट्विटमा उल्लेख गरेका छन्।
Strengthening the age-old ties of friendship
— Gopal Baglay (@MEAIndia) March 17, 2017
Mr. Bimalendra Nidhi, DyPM & Minister of Home Affairs of Nepal called on PM @narendramodi today pic.twitter.com/zk5G3HSEdp
निधिले मोदीलाई भारतमा भएको प्रान्तीय निर्वाचनमा भारतीय जनता पार्टीको विजयका लागि बधाई दिएका थिए।
त्यस्तै कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोलीले नेपालीको ज्यान गएको विषयमा समेत निधिले मोदीको ध्यानाकर्षण गराएको प्रेस नोटमा उल्लेख छ। मोदीले पनि घटनाको छानबिन गर्ने आश्वासन दिएका छन्। भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागि थिए।
निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि छलफल गरेका थिए। प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि निधि भारत पुगेका थिए। उनी आजै भारतबाट नेपाल फर्कदैँछन्।