1.png)
काठमाडौँ : ३३ केजी सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन्।
शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। त्यसैगरी यो मुद्दामा पक्राउ परेका अन्य चार जना मनोज श्रेष्ठ, सपन श्रेष्ठ, राजेश शाक्य र सुनील श्रेष्ठ एक-एक लाख धरौटीमा छुटेका छन्। उनीहरु विरुद्ध संगठित अपराधको मुद्दा दायर गरिएको थियो।
गोपाल शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले र राजकुमार कार्कीलाई भने थुनामा पठाइएको छ। त्यसैगरी भन्सार कर्मचारीहरु राजकुमार ढकाल, श्रीनारायण यादब र श्यामकृष्ण श्रेष्ठलाई पनि अदालतले थुनामा पठाएको छ।
सुन तस्करीमा संलग्नसँग सम्पर्क देखिएपछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले एसएसपी खत्रीलाई हेडक्वार्टर तानेकोमा माघ २३ गते केन्द्रीय अनुसन्धान ब्युरोले हिरासतमा लिएको थियो।
खत्रीले आफू तस्करीमा संलग्न नरहेको भन्दै प्रहरीसमक्ष बयान दिएका थिए।
खत्री २०७२ असोज महिनामा प्रहरी तालिम केन्द्रबाट सरुवा भएर अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।
विमानस्थलको एसएसपी भएको हैसियतले उनको ड्युटी आफ्ना मातहतमा रहेका सुरक्षाकर्मीलाई सुपरिवेक्षण गर्ने, प्रहरीलाई ड्युटीमा खटाउने, आन्तरिक उडानमा खटिएका प्रहरीको सुरपरिवेक्षण गर्ने, आफूभन्दा माथिल्लो तहमा कार्यरत प्रहरी नायब महानिरीक्षकको आदेश पालना गर्ने र गराउने थियो।
के बयान दिएका थिए खत्रीले?
लगेजको चेक जाँचमा प्रहरीको कुनै संलग्नता हुँदैन। पक्राउ परेका श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठलाई चिन्छु। दिलबन्धु थापा, रामहरी कार्की, गोपालबहादुर शाही, सन्तोष काफ्लेलाई चिन्दिनँ।
अवैध सुन आएका बारेमा मलाई थाहा नभएको हो। मैले अवैध सुन स्कर्टिङ गरी बाहिर निकालेको होइन। श्रीनारायण यादवबाट रकम लिएको छैन। निजलाई प्रहरीको अरन खटन सम्वन्धी कुनै सूचना दिएको समेत होइन। यो कुरा सुन पाएको मिति २१ गते सिसिटिभी फुटेज हेर्दा समेत पत्ता लाग्छ नि। भन्सारका कर्मचारीले भने जस्तो मैले लगेज बाहिर कटाउने र डिआइजीलाई समेत रकम दिने कुरा कपोकल्पित हो। मैले निजबाट पैसा लिएको पनि होइन र डिआइजीलाई पैसा दिएको पनि होइन। म यो अपराधमा संलग्न छैन।
यादव भन्सारका पुराना कर्मचारी र निजले मिलनसार स्वभाव देखाउने भएकाले सरकारी काम तथा व्यक्तिगत औपचारीक लागि निजको फोनमा मेरो कुराकानी हुने गरेको हो। उनीसँग कहिले के कुराकानी भयो थाहा छैन। तर आजसम्म सुन तस्करी विषयमा छलफल भएको छैन।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ महिना लगाएर गरेको सुन तस्करीको अनुसन्धानमा तस्करीको मुख्य योजनाकार कामदारको रुपमा दुबई पुगेका नेपाली देखिएको छ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको जालोमा उच्च तहसम्मको संलग्नताको आशंका गरिए पनि ब्युरोको अनुसन्धानमा १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का सो जालोको मुख्य नाइके भएको उल्लेख छ।
ब्युरोको अनुसन्धानमा सुन तस्करीमा ३० जना संलग्न रहेको खुले पनि १२ जना मात्र पक्राउ परेका छन्। अन्य १८ जना फरार छन्। ती १८ मध्ये दुबईमा रहेका मुख्य ५ नाइकेलाई नेपाल ल्याउने उपायका लागि प्रहरीले इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गराउने प्रकृया अगाडि बढाइसकेको छ।
सम्बन्धित समाचार
हाइप्रोफाइल खोज्दा भेटिए दुबईका कामदार : ३३ किलो सुनकाण्ड