फलेवास (पर्वत) : पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ।
कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन्। बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ।
यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन्। विगत पाँच वर्षदेखि सञ्चालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो।
स्थानीयका लागि साविकका ७५ रुपैयाँ रहेको १०० रुपैयाँ र अन्यत्रका लागि १०० रुपैयाँ रहेकामा १२५ रुपैयाँ लिने गरी भाडावृद्धि गरेको थियो। व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताइन्। मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उनले जानकारी दिइन्।
यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि दुई हजार भाडा रहेकामा अहिले बढाएर दुई हजार ५०० पुर्याइएको छ भने एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले २ हजार पुर्याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताए।
पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो। कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिए।
यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन्। उनीहरुले पाँच मिनेटको दूरीमा आइने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो गरेका छन्। रासस