PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

म्याग्दीका १४ ठाउँमा फेला परे प्राकृतिक तातोपानीका मुहान



रासस

म्याग्दी (बेनी) : म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयसभन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन्।
 
प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँच वटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।
 
तातोपानी कुन्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन्। यहाँ बाथ, ग्याष्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्तो कठिन रोग लागेका व्यक्ति डुबेर उपचार गर्नका लागि आउने गरेका छन्।
 
त्यसैगरी मुदीको बगर, दरवाङको भाले वास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौ वटा तातोपानीका मुहान फेला परेको स्थानीयवासीले बताएका छन्।
 
म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मुलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सीयससम्मको तातोपानी निस्कने गर्दछ। सिङ्गातातोपानी ,भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन।
 
म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्नसक्ने हो भने बिरामीले स्वास्थ्य लाभ लिनुका साथै उपचार पर्यटनमार्फत स्थानीयवासीले आयआर्जन गर्नसक्ने बलियो सम्भावना रहेको नेकपा एमालेका राजकुमार थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell