PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

दुवै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै, भन्छिन्- 'अशक्त भए पनि समाजको सेवा गर्छु'



रासस

खोटाङ : दुवै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।
 
शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए।
 
१७ वर्षीया सम्झनाले इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन्। भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन्।
 
परीक्षा केन्द्र नजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेकी छिन्। 'आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढायौं,' आमा सावित्राले भनिन्।
 
सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए। जन्मजात दुवै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो। 

गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्ने इच्छा रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell