PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

उपत्यकाका प्रमुख नदीबाट तीस मेट्रिक टन फोहर व्यवस्थापन



पहिलोपोस्ट

उपत्यकाका प्रमुख नदीबाट तीस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। 

बाग्मती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको बाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए।

सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो। सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गरेका थिए। 

सफाइ महाअभियानलाई आजै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गरे। बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि बाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। 

यसै सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ। टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बैंकका सञ्चालक समेत रहेका बाग्मती अभियन्ता नारायण श्रेष्ठले बताए। 

आजको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाएका थिए। 

बाग्मती सफाइ महाअभियानको २०२ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ। 

रुद्रमती सफाइको १६० औँ हप्तामा बिजुलीबजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। 

पूर्वसचिव किशोर थापा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायतले सफाइको नेतृत्व गरेका थिए। सफाइमा ३५० व्यक्तिको सक्रिय सहभागिता थियो। 

विष्णुमती सफाइको १३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिए। टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा आजको सफाइ अभियान सञ्चालन भएको थियो। सफाइमा ८०० अभियन्ताको सहभागिता थियो। 

तारकेश्वर नगरपालिकाको दियालो टोलमा आज विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिए। गुह्येश्वरीमाथिको बाग्मती सफाइको १६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। 

गुह्येश्वरीमाथिको बाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ। 

वि.सं २०७० जेठ ५ गते शनिबारदेखि बाग्मती सफाइ महाअभियान सुरु भएको थियो। यो महाअभियान सुरु भएपछि बाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell