
- टहल दाहाल 'नवकिरण'
आमा
अभावको चक्रव्यूहमा पनि
फुलाइरहन्छिन् अधरमा
वैभवको लालीगुराँस
सन्तानको सुखलाई सिरानी हालेर
सन्तोषको एक फाँकी निन्द्रा
झकाउन पाए पुग्छ आमालाई
आफ्नै दुनो सोझ्याउन पाए पुग्ने
यस स्वार्थी दुनियाँमा
अरुको निम्ति बाँचिदिने
आमाबाहेक अरु को नै छ र?
पुण्य कमाउन
भगवान् खोज्दै हिँड्ने
ए धर्मभीरुहरु हो!
आमाबाहेक अर्को कुनै
ईश्वर हुन सक्दैन
ए मोक्षका लालसीहरु हो!
साङ्ग्रिला सौन्दर्यले युक्त
आमाको काख
त्यो त वोधिवृक्ष हो
त्यसैको छत्रछायाँमा तपोलीन होऊ
र बुद्धत्व प्राप्त गर।
हिजो–आज
उति सन्चो छैन आमालाई
मुटुजत्तिकै प्यारा
आफ्ना सन्तानहरुको बीचमा
अग्लिँदै गइरहेको अविश्वास र कलहको पहाड देखेर
त्यसैले त आमा भन्नुहुन्छ
घाम र जूनजत्तिकै पुरानो
सहिष्णुता खलबलियो भने
कतै भुइँचालोग्रस्त सहर हुने त होइन
इन्द्रेणी रङ्गहरुले सिँगारिएको
मेरो प्रिय धर्ती।