साना : सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन्।
डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ।
'होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,' रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ।
आक्रमणपछि ३३ जनाको मृत्यु भएको, २९ जना घाइते भएको पाइए पनि अन्य यात्रु कोही हराएका र कोही स्थानीय उद्धारकर्मीको नियन्त्रणमा रहेको हुनसक्ने व्यक्तव्यमा जनाइएको छ।
यो घटनाको दृश्य विभत्स थियो, मैले धेरै महिला, पुरुष र बालबालिका मारिएको देखेँ, साथै छियाछिया घाइते भएको देखेँ, रेडक्रसका इरिक क्रिष्टोफर वेसे भने।
उनले थपे, 'सोमालिया र यमनको द्वन्द्वबाट भागेका शरणार्थी नै घटनामा परेका छन्।'
हुथी नियन्त्रित सावा समाचार संस्थाले घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी नलिएको जनाएको छ।
सानामा रहेको अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनका प्रवक्ता सेवा अल मौलिमीले बिहीबार राति भएको सोमालियाका शरणार्थीको यात्राका बारेमा सङ्गठनलाई कुनै जानकारी नभएको सिन्ह्वालाई बताए।
शरणार्थी सुडानतर्फ जाँदै गरेको सङ्गठनलाई धेरैपछि मात्रै थाहा भएको उनले बताए। रासस/सिन्ह्वा