
काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकपछि संसद् केही दिनका लागि स्थगित गर्ने तयारी छ। संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयले आइतबारको सम्भावित कार्यसूची तय गरिसकेको छ। बैठकले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा अध्यक्षलगायतलाई सुविधा दिने सम्वन्धी विधेयक पारित गर्दैछ। कार्यसूचीमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको प्रस्तावमा उक्त विधेयक दफावार छलफल र पारित गर्ने कार्यसूची छ।
विधेयकले पूर्व राष्ट्रपतिलाई मासिक घरभाडा मात्र दुई लाख दिने प्रस्ताव गरेको छ। उपत्यकामा घर भएको हकमा मर्मत सम्भारका लागि मासिक एक लाख भाडा दिने प्रस्ताव विधेयकमा छ। अन्य पदाधिकारीले मासिक ७५ हजार घरभाडा पाउनेछन्। उपत्यकामा घर भएको हकमा मासिक मर्मत खर्च ३७ हजार पाँच सय पाउनेछन्।
राष्ट्रपति र उपराष्ट्रपतिलाई अवकाशपछि मासिक क्रमश ५० र ४० हजार मासिक बृत्तिको प्रस्तावि पनि विधेयकमा छ।
सामान्यतयाः विधेयकमा संशोधन दर्तापछि दफावार छलफलका लागि समितिमा पठाउने प्रचलन भए पनि विधेयकको दफावार छलफल पनि संसद्मै हुन लागेको हो। यसअघि सांसद्हरुको पारिश्रमिक बढाउने विधेयक पनि संसद्मै दफावार छलफल गरी फास्ट ट्रयाकमा पारित भएको थियो।
विधेयकमा सांसद्हरुले समेत सुविधा पाउनुपर्ने माग गर्दै संशोधन दर्ता गरेका छन्। सांसद्हरुले आवकाशपछि औषधि उपचार, यातायातलगायतका सुविधा पाउनुपर्ने माग गर्दै संशोधन दर्ता गरेका हुन्। कतिपय सांसद्हरुले भने विशिष्ठलाई दिन प्रस्ताव गरिएको मासिक बृत्ति र आवास सुविधा कटौती गर्न संशोधन दर्ता गरेका छन्।
विशिष्ठलाई सुविधा दिने विधेयकमा राजनीतिक सहमति भए पनि निर्वाचन विधेयक भने रोकिएको छ। राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेसहोल्डको विवादका कारण अघि बढ्न सकेको छैन। विधेयक राज्य व्यवस्था समितिको उपसमितिमा नै विचाराधीन छ।
यस्तै आइतबार नै बस्नै बैठकले निर्वाचन क्षेध निर्धारण आयोग गठनसम्वन्धी विधेयक पनि पारित गर्ने सम्भावित कार्यसूची छ। गाउँपालिका, नगरपालिकाको वडा विभाजन विधयेक पनि आजै पारित हुने सचिवालयको सम्भावित कार्यसूची छ।
सर्वोच्च, उच्च अदालत र जिल्ला न्यायाधीशको पारिश्रमिक सम्वन्धी विधेयक भने दफावार छलफलका लागि समितिमा पठाउने सम्भावित कार्यसूची सचिवालयले तय गरेको छ। बैठकमा बस्तु विनिमय सम्वन्धी विधेयक पनि पेश हुनेछ।