
- दि इकोनोमिक टाइम्स-
शेयर बजारमा लगानी गर्दा महिलाहरु आफ्नो पोर्टफोलियो पटकपटक परिवर्तन गर्दैनन्। उनीहरु आफ्नो गल्ती सहजै स्वीकार गर्छन्। उनीहरु सल्लाह लिन पनि हच्किँदैनन्। बजारमा भइरहने सानातिना कुराहरुलार्इ बेवास्ता गर्न र आफ्नो अडानमा कायम रहन महिलाहरु पुरुषभन्दा कुशल हुन्छन्। उनीहरु लामो अवधिको सोच राखेर कदम चाल्छन् र प्राय: ‘बाइ एण्ड होल्ड’ रणनीति अपनाउँछन्।
शेयर बजारमा पुरुष लगानीकर्ताहरु आफ्नो स्वाभाविक अहंकारका कारण आफूलार्इ नै वारेन बफेट सम्झन थाल्छन्। यसले उनीहरु कहिलेकाहीँ हतारमा लगानी गर्छन् र फुर्सदमा पछुताउँछन्। घाटामा शेयर बेच्नुलार्इ पुरुष आफ्नो हार भएको मान्छन्। चिनेजानेकाले घाटा खाएर बेच्यो भनेर खिल्ली उडाउलान् भन्ने डरले पनि उनीहरु घाटामा शेयर बेच्न चाहँदैनन्।
क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार शेयर किन्ने कुरामा पुरुषहरु अधिक आत्मविश्वासको शिकार हुने गर्छन्। त्यसैले उनीहरु हतारमा धेरै ट्रेडिङ गर्ने र धेरै रकम गुमाउने गर्छन्। महिलाहरु भने यस मामिलामा शान्त र सतर्क हुन्छन्। उनीहरु तनावको स्थितीलार्इ कुशलतापूर्वक सम्हाल्न सक्छन्। त्यसैले लगानी गर्ने मामिलामा पुरुषभन्दा सक्षम अवस्थामा हुन्छन्।
महिलामा विशेष गुण
महिलामा केही विशेष गुण हुन्छन्। उनीहरु अरुलार्इ अघि बढाउन भन्दा आफ्नो लक्ष्य हासिल गर्न बढि दत्तचित्त हुन्छन्। महिलाको रुचि शेयर बजारमा राम्रो प्रदर्शन गर्नुमा होइन आफ्नो निजी लक्ष्य कसरी हासिल गर्ने भन्नेमा हुन्छ। त्यसैले उनीहरु बजेट बनाउन र विविध प्रयोजनका लागि पैसाको अलग अलग ब्यवस्थापन गर्न समेत माहिर हुन्छन् । पुरुषहरुमा भन्दा महिलामा फाइनान्स प्लानिङको स्वाभाविक गुण हुन्छ।.jpg)
लगानी गर्ने क्रममा यस्ता धेरै खुबीहरु छन् जुन पुरुषले महिलाबाट सिक्नुपर्ने हुन्छ। पुरुषले भावनामा बहकिएर होइन विज्ञको सल्लाह लिएर केमा लगानी गर्दा उचित हुन्छ भन्ने निर्णयमा पुग्दा बजारमा दीगो टिक्न सक्छन्। र, विज्ञको खोजीमा बाहिर भौँतारिनु पहिला आफ्नै श्रीमतीसँग सल्लाह गर्नु उचित हुन्छ।
पुरुषहरुले धैर्य देखाउनुपर्छ। योभन्दा पनि मुख्य कुरा उनीहरुले परिवारमा महिलालार्इ सशक्त बनाउनुपर्छ र पूँजीसँग जोडिएका निर्णयमा उनीहरुलार्इ पनि सहभागी गराउनुपर्छ।
महिलाले पुँजीको मामलामा पछि परियो भन्ने हितनाबोध त्यागेर आर्थिक कारोबारमा सहभागी हुन आफैँ अघि बढ्नुपर्छ। अध्ययनमा के पाइएको छ भने जो महिला विवाहअघि आत्मनिर्भर र पुँजीको मामिलामा आत्मविश्वासी थिए विवाहपछि उनीहरु कमजोर हुने र श्रीमानमाथि निर्भर रहने प्रवृत्ति देखियो। यो महिलाहरुको लागि निकै नै दुर्भाग्यपूर्ण हो किनभने पुँजीको लागि महिलाहरुले पुरुषको भरपर्दा अवसर तथा आत्मविश्वास दुवै गुमाइरहेका हुन्छन्।