काठमाडौं : प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वमा पाँच सदस्यीय वृहद पूर्ण इजलास गठन गरेकी छन्। कार्कीको इजालसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हालाई सदस्य तोकेकी छन्।
गत बिहीबार मुद्दा संयुक्त इजलासमा पेश भए पनि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यसअघि अन्तरिम जारी गर्ने न्यायाधीश समेतको इजलासमा पेसी तोकिएको भन्दै सुनुवाइ रोक्न माग गरेका थिए। महान्यायाधिवक्ता श्रेष्ठको माग अनुसार पेसी आजका लागि सारिएको थियो।
तर, आज पनि अन्तरिम आदेश जारी गर्नेमध्येका एक न्यायाधीश हरिकृष्ण कार्की इजलास सदस्य तोकिएका छन्। अघिल्लो सुनुवाइमा तेजबहादुर केसी समेतको इजलास तोकिएको थियो।
पेसी सारेसँगै संयुक्त इजलासले मुद्दाको गम्भीरतालाई ध्यानमा राखी पूर्ण इजलासमा पेश गर्न पनि आदेश गरेको थियो। आइजी बढुवाको फाइल पनि इजलासले मगाएको थियो।
फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा सिफारिस गरेको थियो। सिफारिसको दुई घन्टा बित्न नपाउँदै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अधिवक्ता कपिलदेव ढकालको रिटमा सुनुवाइ गर्दै निर्णय कार्यान्वयन रोकेको थियो।
सरकारको सिफारिस यथास्थितिमा राख्न आदेश भएकै दिन आइजीका अर्का प्रतिस्पर्धी डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए।
अन्तिम सुनुवाइले यसअघि फागुन १८ गते जारी अन्तरिम आदेश खारेज गरे चन्दको सिफारिस कार्यान्वनको बाटो खुल्नेछ। रिट जारी भएको अवस्थामा भने सरकारले नयाँ प्रक्रियाबाट फेरि प्रहरी प्रमुख सिफारिस गर्नुपर्नेछ।