PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

८८ वर्ष पुरानो संस्कृत विद्यालयका छात्रको बाध्यता- पढाइ नेपालमा परीक्षा भारतमा



राधेश्याम पटेल

८८ वर्ष पुरानो संस्कृत विद्यालयका छात्रको बाध्यता- पढाइ नेपालमा परीक्षा भारतमा

वीरगन्ज : वीरगन्जस्थित ८८ वर्षे संस्कृत विद्यालयमा विद्यार्थीहरुलाई गायत्री मन्त्र सिकाउँदै थिए प्राचार्य पण्डित विजयनाथ तिवारी। यस वर्ष विद्यालयमा ११ जना छात्र अध्ययनरत छन्। यीमध्ये चार जना भारत विहारका हुन्।

वीरगन्ज–८ लाठगलीमा रहेको पशुपति चन्द्रमुनि वेदवेदाङ्ग विद्यालय वीरगन्ज आसपासको पहिलो संस्कृत विद्यालय हो। पर्सा, बारा, रौतहट र नेपालसँग सीमा जोडिएको बिहारको गाउँका पण्डित घारानाका अधिकांश किशोर, युवा यहीँ पढ्न आउँछन्। 
 
छात्रहरुलाई प्राचीन सभ्यताको गुरुकुल शिक्षा प्रणालीमा आधारित पठनपाठन गराइने प्राचार्य तिवारीले बताए। नेपालमा वीरगन्जसँगै देवघाट, कलैया सिद्धेश्वर मावि र नवलपरासी लगायतका ठाउमा संस्कृत विषयको पठनपाठन हुन्छ।
 
वीरगन्जको मारवाडी घराना चौधरी परिवारले १९८५ सालमा भारतबाट गुरु बोलाएर यो विद्यालय स्थापना गरेका थिए। वीरगन्जमा त्यस बखत हिन्दु विधिविधान गराउने पुरोहितको अभाव खट्किएपछि चौधरी परिवारले मुनिलाल धर्माथ ट्रस्टबाट पशुपति चन्द्रमुनि वेदवेदान्त संस्कृत विद्यालय सञ्चालनमा ल्याएको हो। ट्रस्टले अहिलेसम्म आनै खर्चमा विद्यालय सञ्चालन गर्दै आएको छ।
 
विद्यालयका विद्यार्थी तथा शिक्षकको सम्पूर्ण खर्च ट्रष्टले नै बेहोर्ने गरेको यसका सञ्चालक विनोद चौधरी बताउँछन्। विद्यालयमा आवसीय रुपमा खानबस्ने, पढ्ने,  शैक्षिक सामग्रीको नि:शुल्क व्यवस्था मिलाइएको छ।
 
त्रिजुद्ध स्कुलका शिक्षक पर्मानन्द तिवारी, नृसिंह स्कुलका शिक्षक वृजमोहन तिवारी, सिर्सियाका सुरेन्द्र चौबे, मुर्लीका धीरेन्द्र पाण्डे, वीरगन्जका ध्रुप पाण्डे, वीरगन्जकै पशुपति शर्मा लगायतले यही स्कुलबाट प्रारम्भिक शिक्षा लिएको प्राचार्य तिवारी बताउँछन्। 

परीक्षा दिन भारत

भारत विहारस्थित राजकीय मावि हरनहियाबाट कक्षा ८ सम्म पढेर हाल वीरगन्जको यसै स्कुलबाट संस्कृत शिक्षामा मध्यमाको तयारी गरिरहेका सुशीलकुमार तिवारी यति बेला चिन्तित छन्। किनकि पठनपाठन यहीँ भए पनि परीक्षा दिनका लागि भारतको संस्कृत विद्यालय जानुपर्ने बाध्यता छ। यसैले उनी विहारको अन्य संस्कृत विद्यालयबाट परीक्षा दिने तयारी गरिहेका छन्।
 
नेपालमै परीक्षा दिन व्यवस्था मिलाइयो भने नेपाल र भारतका विद्यार्थीहरुका लागि यो विद्यालय आकर्षणको केन्द्र बन्ने उनको भनाइ छ।
 
यस विद्यालयबाट अध्ययन पूरा गरी विद्यार्थीहरुले मध्यमाको परीक्षा रक्सौल मझवलियामा रहेको संस्कृत भगत मध्यमा विद्यालयमा दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell