विराटनगर : उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने बताएका छन्। साथै उनले निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आह्वान पनि गरेका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गरे। स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै मन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गरे।
निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै उनले सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराए।