
काठमाडौँ : मतदान केन्द्र सिफारिस समितिले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा १६५ वटा मतदानस्थल र ३७९ वटा मतदान केन्द्र तोकेको छ।
यस महानगरमा सबैभन्दा बढी वडा नं. ३१ मा ११ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी चन्द्रमणि भट्टराईले जानकारी दिए।
यस्तै, सबैभन्दा कम मतदाता रहेको वडा नं ९ मा मतदानस्थल ९ वटा र मतदान केन्द्र १६ वटा निर्धारण गरिएको छ। त्यस्तै सबैभन्दा बढी १९ हजार १५७ मतदाता रहेको वडा नं १६ मा १० वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। वडा नं ३२ मा भने नौ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्र रहेका छन्।
समितिले काठमाडौँ जिल्लामा साविकमा रहेका ३११ मतदानस्थलको संख्या बढाएर अहिले ३२० वटा र साविकमा रहेका ७४१ वटा मतदान केन्द्र बढाएर ७४५ वटा सिफारिस गरेको छ।
स्थानीय तह पुनःसंरचना भएसँगै काठमाडौँ जिल्लामा साविकका २१० वटा वडाबाट संख्या घटेर अहिले १३८ कायम छन्।
वडा नं ६, ७ र २६ मा मतदानस्थल सात-सात वटा रहेका छन् भने मतदान केन्द्र ६ र ७ वडामा १८/१८ वटा साथै वडा २६ मा आठ वटा रहेका छन्। काठमाडौँ महानगरपालिकामा करिब दुई लाख ७४ हजार ४३८ मतदाता रहेको जनाएको छ। रासस