
काठमाडौं : प्रहरी महानिरीक्षक (आइजी) सिफारिस मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतले आज गर्दैछ। आइतबारदेखि प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको बृहद पूर्ण इजलासमा सुरु भएको सुनुवाइ आज पनि हुँदैछ। निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ। आज बढीमा दुई सरकारी वकिल र निवेदकको संक्षिप्त जवाफपछि अन्तिम फैसला आजै आउने सम्भावना छ।
प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा अन्तिम सुनुवाइका क्रममा छ।
इजलासमा विवाद
इजलाससँगको विवादपछि आज विपक्षीका तर्फबाट बढीमा दुई सरकारी वकिलले मात्र बहस गर्नेछन्। मुद्दाको सुरुदेखि बहस गर्दै आएका सहन्यायाधिवक्ता डा. रेवतीराज त्रिपाठी र उपन्यायाधिवक्ता टेकेन्द्र दाहालले मात्र बहस गर्नेछन्।
चन्दका वकिलले बहस नगर्ने
इजलासको निश्पक्षतामा प्रश्न उठाउँदै आइजिपीमा सिफारिस डिआइजी जयबहादुर चन्दको तर्फबाट कानुनी प्रतिरक्षा गरिरहेका कानुन व्यवसायीले आज बहस नगर्ने भएका छन्। महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसहितका उच्च सरकारी वकिलले आइतबारको बहस बहिस्कार गरेका थिए।चन्द पक्षका कानुन व्यवसायीले प्रधानन्यायाधीश कार्की र न्यायाधीशद्धय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको निश्पक्षतामा प्रश्न उठाएका छन्।
प्रधानन्यायाधीशले फागुन १ गते सरकारको निर्णय कार्यान्वयन रोक्न अल्पकालीन आदेश जारी गरेकी थिइन। यस्तै, न्यायाधीश हरिकृष्ण कार्कीले अल्पलकालीन आदेशलाई निरन्तरता दिने संयुक्त इजलासको नेतृत्व गरेका थिए। न्यायाधीश खतिवडाले आइजिपीका प्रत्यासी तथा विचराधीन रिट निवेदनका निवेदक डिआइजी नवराज सिलवाललाई आइजिपी बनाउन रोकिपाउँ भनी दायर रिट प्रारम्भिक बहसबाटै खारेज गरेका थिए।
चन्दका कानुन व्यवसायीले तीन न्यायाधीश विषयमै एकपक्षीय मानसिकता लिएर इजलासमा बसेको आरोप लगाउँदै बहस बहिस्कार गर्ने निधो गरेका हुन्।
चन्द पक्षका एक कानुन व्यवसायीले भने ‘सरकारी वकिलबाट एक जनाको बहस गर्ने र हामी ९प्राइभेट वकिल० प्रतिरक्षा गर्दै आएका कसैले पनि बहस नगर्ने समझदारी भएको छ। हामी फैसलापछि प्रतिक्रिया दिन्छौं।’
चन्दपक्षबाट प्रतिरक्षा गर्दै आएका वरिष्ठ अधिवक्ता सुशील पन्त, महादेव यादव, वसन्तराम भण्डारी, सतीषकृष्ण खरेल, हरिप्रसाद उप्रेती, पूर्णमान शाक्य, प्रेमबहादुर खड्का, अधिवक्ताहरु सुनीलकुमार पोखरेल, दीनमणि पोखरेल, माधवकुमार बस्नेतलगायतले बहसमा सहभागिता नजनाउने बताएका छन्।
आइतबार महान्यायाधिवक्ता श्रेष्ठसँगै नायव महान्यायाधिवक्ताहरु दुर्गाबन्धु पोखरेल र खगराज पौडेलले पनि इजलास बहिस्कार गरेका थिए। आजको सुनुवाइमा जुनियर सरकारी वकिल पठाएर आफुहरु बहसमा सहभागि नहुने उनीहरुले आइतबार नै बताएका थिए।
आइतबार निवेदक अधिवक्ता कपिलदेव ढकाल र डिआइजी सिलवालका तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, बालकृष्ण न्यौपाने, तुलसी भट्ट अधिवक्ताहरु बाबुराम कुँवर, अधिवक्ता हरि फुँयाल, ओमप्रकाश अर्याललगायतले भने बहस गरेका थिए।