PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

झलनाथ-पुत्रले भाँजो हाले भैरहवा विमानस्थल निर्माणमा, ठेक्का तोड्ने मुडमा चिनियाँ कम्पनी



उमेश पौडेल

झलनाथ-पुत्रले भाँजो हाले भैरहवा विमानस्थल निर्माणमा, ठेक्का तोड्ने मुडमा चिनियाँ कम्पनी

काठमाडौं : राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र विस्तारमा नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिले भाँजो हालेको छ।
 
आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण सामग्री झलनाथ पुत्र निर्भिक चित्रकार खनालको कम्पनीले उपलब्ध नगराएपछि काम अवरुद्ध भएको हो। निर्भिकको कम्पनीले आयोजनाको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई निर्माण सामग्री सप्लाइको जिम्मा लिएको छ। 
 
निर्भिकको कम्पनीले चिनियाँ ठेकेदारबाट १० करोड रुपैयाँ ‘एड्भान्स’ लिएर गिट्टी बालुवा एवं अन्य निर्माण सामग्री उपलब्ध गराउने सम्झौता गरेको थियो। तर, सहमति बमोजिमको सामग्री उपलब्ध नगराई थप रकम मागेपछि विवाद उत्पन्न भएको स्रोतले जानकारी दियो।
 
विमानस्थलमा निर्माण तथा विस्तारका लागि चाहिने गिट्टी बालुवा तथा अन्य सामग्रीका लागि निर्भिक कम्पनीले पैसा लगेको तर सामान नल्याइदिएको गुनासो चिनियाँ ठेकेदारले नागरिक उड्डयन प्राधिकरणलाई समेत गरिसकेको छ। निर्भिकको कम्पनीले भने सप्लाई गरेको सामग्रीको पछिल्लो हिसाबकिताब नगरेको भन्दै थप रकम दिएपछि मात्र सामान आपूर्तिको अडान लिएको छ।
 
निर्भिकको व्यापारिक साझेदारमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ र पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत ७ जना संलग्न छन्।
 
उनीहरुको कम्पनीले दुई सातादेखि निर्माण सामग्री सप्लाई नगरेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना स्रोतले जानकारी दियो। पछिल्लो समय रनवे निर्माण तथा विस्तारको काम भइरहेको थियो। पुरानो स्टकले एक साता धाने पनि पछिल्लो हप्ता यता काम रोकिएको स्रोतको भनाइ छ। ठेकेदार र सप्लायर कम्पनीबीच वार्ता भएपनि केही निष्कर्ष निस्किएको छैन।
 
'चिनियाँ र नेपाली ठेकेदार दुवै पक्ष सम्मिलित भएर निरन्तर वार्ता गरिरहनुभएको छ,' आयोजना प्रमुख ओम शर्माले भने, 'दुवै पक्षबीच कुरा नमिले ठेक्का रद्द हुने सम्भावना समेत छ।'
 
सन् २०१७ को डिसेम्बरसम्ममा विमानस्थल सम्पन्न गर्नेगरी चिनियाँ कम्पनीले ठेक्का लिएको थियो। परियोजना सम्पन्न हुँदासम्म लागत करिब ९ करोड अमेरिकी डलर (करिब साढे ९ अर्ब रुपैयाँ) पुग्ने अनुमान दाता एसियाली विकास बैंकले गरेको छ।
 
दुई वर्षअघि काम थाल्दा पनि चिनियाँ कम्पनीका लागि निर्माण सामग्री सप्लाई कसले गर्ने भनेर नेपाली ठेकेदारहरुबीच घम्साघम्सी चलेको थियो।
 
त्यस बेला एमालेको केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि झलनाथका छोराको कम्पनी सप्लायर छानिएको थियो। तर, सप्लायरले सुरुदेखि नै चित्तबुझ्दो काम नगरेको चिनियाँ ठेकेदारको गुनासो छ।
 
चिनियाँ ठेकेदार कम्पनीका भाइस प्रेसिडेन्ट नेपालमा
यसैबीच स्थानीय सप्लायरले दु:ख दिएको भन्दै अब विमानस्थलको काम गर्ने कि छाड्ने निर्णय लिन चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन कम्पनीका भाइस प्रेसिडेन्ट नेपाल आएका छन्।
 
निर्भिकको कम्पनीले काममा भाँजो हाल्न नछाडे ठेक्का तोड्ने ‘मुडमा’ चिनियाँ पक्ष पुगेको स्रोतले बतायो।
 
'तत्काल ठेकेदारले छाडेर जाने सम्भावना अलि कम छ,' स्रोतले भन्यो, 'उनीहरुको पहिलो कोसिस नयाँ सप्लायर खोज्नेमा देखिन्छ, त्यसमा कुरा नमिले उनीहरु ठेक्का तोड्ने मनस्थितिमा छन्।'
 
चिनियाँ ठेकेदार कम्पनीलाई ‘फाइनान्सियल क्राइसिस’ भएको दाबी सहित सप्लायरले सुरुदेखि नै भाँजो हाल्दै आएको थियो। पटक-पटक पैसा मागेर दुःख दिने गरेको चिनियाँ ठेकेदारको गुनासो छ। स्रोतका अनुसार सप्लायरले औचित्य खुलाएर मागेको रकम भुक्तानीमा कम्पनीले कुनै कन्जुस्याइँ गरेको छैन। आयोजनाको दाता एसियाली विकास बैंकले समेत लगातार भुक्तानी गरिरहेको उनले जानकारी दिए।
 
निर्माण अवरोधले जग्गाको मुआव्जा वितरणमा पनि समस्या
विमानस्थलका लागि जग्गा अपुग भएको भन्दै आयोजनाले थप ५०० बिघा जमिन थप गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको थियो।
 
२८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थललाई जग्गा अपुग भएपछि त्यसका लागि ४२८ बिघा निजी र ७२ बिघा सरकारी जग्गा थपका लागि मुआव्जा वितरणको अन्तिम तयारी भइरहेको थियो। चैत महिनाभित्रै मुआव्जाको काम सक्ने लक्ष भए पनि सप्लायर पक्षको अवरोधका कारण प्रभावित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell