
काठमाडौँ : मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा पनि आज (मार्च २०) विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाइँदैछ।
विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको आयोजक नेपाल डेन्टल एसोसिएसनको भनाइ छ।
एसोसिएसनका अध्यक्ष सन्तोषमान राजभण्डारीले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताए। वर्ल्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माझ्नाले गिजा र दाँतलाई बचाउन सकिन्छ। फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको ब्याक्टेरिया हटेर जाने दन्त चिकित्सक बताउँछन्।
वीर अस्पतालका दन्त विशेषज्ञ डा प्रकाश बुढाथोकीले रोगको प्रवेशद्वार नै मुख भएकाले रोगको प्रवेश शरीरभित्र हुन नदिन समयसमयमा मुखको परीक्षण गर्नु आवश्यक भएको बताए।
नेपाल मेडिकल परिषद्मा हालसम्म एक हजार ९६० दन्त चिकित्सक छन् भने ५४६ दन्त विशेषज्ञ दर्ता छन्।
हाल १२ दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३०० चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन्। सन् २०१७ देखि यो सङ्ख्या दोब्बर हुने एसोसिएसनको भनाइ छ। सरकारले नीति बनाएरै देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकको भनाइ रहेको छ।