
लन्डन : लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरिएको छ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले पुस्तक सार्वजनिक गर्दै अभिव्यक्ति स्वतन्त्रताका लागि कानुनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा खुसी लागेको कुरा बताए। बेलायतका नेपालीहरुको साहित्यमा रुचि देखेर उनले आगामी दिनमा साझा प्रकाशनले बेलायतीमा रहेका नेपाली स्रष्टाहरुका कृति प्रकाशन गरिँदै लैजाने बताए।
नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुई सय शीर्षकका तीन हजार थान पुस्तकको लिएर महाप्रबन्धक शर्मा बेलायत आएका हुन्।
लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सातौं कृति ‘युरेसियाको स्पर्श’ साझा प्रकाशनले बजारमा ल्याएको हो। चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्रवटा यात्रानुभूति उक्त पुस्तकमा समेटिएका छन्।