
गोरखा : पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ।
मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो। मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिने बताए। काठ अभाव टार्न पुरानै काठको प्रयोग भइरहेको छ।
श्रेष्ठले भने, 'चार/पाँच जना कामदारले मन्दिर पुनःनिर्माणको काम गर्दै आएका छन्। पुरातत्व विभागले भनेअनुसार पहिलेकै अवस्थामा कुनै हेरफेर नहुने गरी मन्दिर निर्माण भइरहेको छ।' पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पुरातत्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनःनिर्माण अघि बढाइएको छ।
०७२ साउनदेखि मन्दिर पुनःनिर्माण सुरु गरिएको थियो। एक वर्षभित्रमा मन्दिरको एक तला निर्माणको काम सकिएको हो। ०७४ सालभित्रमा मन्दिरको पुनःनिर्माण सक्ने र धर्मावलम्बीलाई पूजाअर्चनाका लागि खुल्ला गरिने श्रेष्ठले बताए। पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा टहरो बनाएर पूजाआजा गरिँदै आइएको छ।
०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनःनिर्माणमा आठ करोड रुपैयाँ लगानी गर्नुपर्ने बताइए पनि महंगी बढेकाले लागत खर्च पनि बढेको छ। मन्दिर निर्माण सक्न कम्तीमा १४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ। मन्दिर निर्माण गर्न सरकारले करिब चार करोड रुपैयाँ दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब पाँच करोड ५० हजार रुपैयाँ सङ्कलन भएको छ। रासस