
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको संसदीय सुनुवाइ गरेको छ। समितिले सोमबार बिहान उजुरीकर्तासँगको छलफलपछि शेर्पाको सुनुवाइ गरेको हो।
उजुरकर्ता तीन जनामध्ये एकमात्र सम्पर्कमा आएका थिए। ओमनका लागि प्रस्तावित शर्मिला पराजुली ढकालविरुद्धका उजुरकर्तामात्र समितिमा सम्पर्कमा आएका हुन्।
सुनुवाई समिति सचिव ध्रुवप्रसाद घिमिरेले शेर्पाको सुनुवाइ सम्पन्न भएको बताए। बुधबारका लागि ६ जना प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाइएको छ। बुधबार निरञ्जन थापा, चोपलाल भुसाल, युवनाथ लम्साल, प्रतिभा राणासहित ६ जनालाई बोलाइएको छ।
सुनुवाइका लागि बोलाइएकामध्ये इजरायलका लागि प्रस्तावित राजदूत थापाविरुद्ध मात्र समितिमा उजुरी परेको छ।
पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी शेर्पा दोश्रो संविधानसभा निर्वाचन अघि नेकपा माओवादी केन्द्र प्रवेश गरेकी थिइन्।
सरकारले गत ९ फागुनमा विभिन्न १४ जना राजदूत नियुक्ति सिफारिस गरेको थियो। संसदको सुनुवाइ विशेष समितिमा ११ फागुनमा १२ जनाको मात्र नाम पठाएको थियो। दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नाम सुनुवाइमा पठाउनुअघि हटाएको थियो।