PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

म्याग्दीका सरकारी कार्यालयमा ३३ प्रतिशत कर्मचारी अभाव



रासस

म्याग्दीका सरकारी कार्यालयमा ३३ प्रतिशत कर्मचारी अभाव

बाबियाचौर (म्याग्दी) : म्याग्दीका सरकारी कार्यालयमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव रहेको छ। 

यहाँका कार्यालयहरुमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ। जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन्। 

स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी विवरण सङ्कलन गरेको थियो। 

निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीका अनुसार रिक्त दरबन्दीमा खरिदार १००, कार्यालय सहयोगी ७८ र नायब सुब्बा ६२ छन्। १३ शाखा अधिकृत र १० उपसचिवस्तरको पदपूर्तिसमेत हुन सकेको छैन। जिल्लाभर उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, मुखिया र कार्यालय सहयोगी पदमा क्रमश २७, ५४, २१३, २८३, १ र २३१ दरबन्दी रहेका छन्। 

हाल उपसचिवको १७, शाखा अधिकृतको ४१, नायब सुब्बाको एक सय ५१, खरिदारको एक सय ८३, मुखिया एक सय र कार्यालय सहयोगीको एक सय ५३ पद मात्रै पूर्ति भएको सूचना अधिकारी खत्रीले बताए। 

स्वास्थ्य, शिक्षा, वन, कृषि विकास, पशुसेवा, सिचाइ, मालपोत लगायतका कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेका छन्। प्राविधिक र लेखासम्बन्धी पदमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमासमेत कठिनाइ भइरहेको जिल्लास्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखले बताएका छन्। 

कर्मचारीले म्याग्दी आउन नचाहने र यहाँ दरबन्दी भएका कर्मचारी अन्यत्र काजमा रहने समस्या देखिएको छ। बेनीमा संस्थानबाहेक ३० वटा सरकारी कार्यालय रहेका छन्। 

कर्मचारी अभाव हुँदा पूर्वाधार योजनाको बजेट कार्यान्वयन र अनुगमन प्रभावित भएको सिँचाइ विकास सव डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताए। विभिन्न तहका ११ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल पाँच जनामात्र कार्यरत छन्। 

त्यस्तै २१ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा दश जना, ४५ जनाको दरबन्दी भएको पशु सेवामा २८, ४२ जनाको दरबन्दी भएको कृषि विकासमा २५ र ६१ जनाको दरबन्दी भएको वन कार्यालयमा ४८ जना कर्मचारीमात्र कार्यरत छन्। 

म्याग्दीलाई दुर्गम क्षेत्रको रुपमा बुझ्ने परिपाटीले गर्दा जिल्लास्थित कार्यालयमा कर्मचारी अभाव भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष डिल्लीराम रेग्मीले बताए। 

'अन्यत्र भन्दा यहाँ काम गर्ने वातावरण छ तर कर्मचारीमा दुर्गम भएको भ्रम पर्दा म्याग्दीलाई रोज्दैनन्' रेग्मीले भने 'यहाँ सरुवा भएर आउन नमान्ने र आएपछि अन्यत्रै काजमा बस्ने अर्को समस्या हो।' 

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि सम्बन्धित कार्यालयमार्फत माथिल्लो निकाय र लोकसेवा आयोगमा पहल गर्ने बताए। 

नजिकिँदो निर्वाचनलाई लक्षित गरेर काज र बिदामा बसेका कर्मचारीलाई सम्बन्धित दरबन्दी भएकै कार्यालयमै फर्काउन पहल भइरहेको प्रजिअ पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell