
वीरगन्ज : कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले मकै रोप्ने मेसिनको सफल परीक्षण गरेको छ। दुईपांग्रे पावर टिलरमा जोडेर चलाउने सकिने यो मेसिनले दुई लाइनमा एकसाथ मकै छर्न सकिन्छ।
केन्द्रले आफैँ डिजाइन, विकास र परिमार्जन गरी चार वर्षको परीक्षणपछि मेसिन तयार पारेको हो। पर्सा बेल्वाका अगुवा किसान अनिरुद्ध प्रसाद थारुको खेतमा केन्द्रले यो मेसिन चलाएर मकै रोपेको छ।
केन्द्रका प्रमुख सचिन मिश्राले यसले खेतमा मकै छर्ने लाइन-लाइनको दुरी ६० सेन्टीमिटर र बोट-बोटको दुरी २५ सेन्टिमिटरको हुने बताए। स्वदेशमै उपलब्ध औजार प्रयोग गरी यसको आविष्कार गरिएको उनले जानकारी दिए।
फलामको पत्ति, रड, चेन, वेभल गेयर आदि जडान गरेर यो मेसिन बनाइएको छ। 'उपकरणले इनक्लाइन्ड सेल्टाई मिटरिङ प्रविधिले मकैको वीउ खसाल्छ,’ मिश्राले भने, ‘यसबाट बीउ रोप्दा सबै खर्च जोडेर प्रतिघन्टा सञ्चालन खर्च २ सय २५ रुपैयाँ मात्र पर्छ।'
पावर टिलर चलाएर एक घन्टामा ६ देखि ७ कठ्ठा खेतमा मकैको बीउ रोप्न सक्ने उनले दाबी गरे। दुई लाख रुपैयाँमा किसानले पावर टिलर किनेपछि यो उपकरणलाई त्यसमा जडान गरेर खेतमा प्रयोग गर्न सक्छ।
ठूलो ट्याक्टरको मूल्य हिजोआज १५ लाख रुपैयाँसम्म पर्न थालेकाले यो उपकरण साना तथा मझौला किसानका लागि अत्यन्त लाभदायी हुने उनको भनाइ छ। एउटा किसानले परम्परागत विधिबाट यसरी मकै रोप्दा १ दिनमा २ कठ्ठा खेतमा मात्र मकै रोप्न सक्छन्।