दाङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा एउटा चित्तल मरेको छ।
लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालय नजिकै बसको ठक्करबाट आज बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए।
उनका अनुसार काठमाडौँबाट जाजरकोटतर्फ जाँदै गरेको ना ६ ख ४०५ नंको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा मृत्यु भएको हो। ठक्कर दिइने बसलाई बाँकेको कुसुम प्रहरीले पक्राउ गरेको छ।
बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी ४० किलो तौलको पोथी रहेको छ। उक्त चित्तललाई सेक्टरवन कार्यालय गढुवाको टोलीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।