PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

झापामा ११ सय ६५ जनालाई हात्तीपाइले सङ्क्रमण



रासस

बनियानी : झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको संक्रमण रहेको पाइएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका संक्रमित रहेका छन्। 

त्यस्तै, यस वर्ष सातलाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। 

त्यसका लागि करिब १८ लाख ५० हजार डिइसी र आठलाख ५० हजार थान एलेन्डालोज ट्याब्लेट वितरण गरिने जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए। औषधि खुवाउन जिल्लाभर तीनहजार ७८६ जना स्वयम्सेवक र ४०० स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ। 

जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले हात्तीपाइलेविरुद्धको औषधि सेवनका विषयमा सर्वसाधारणमा भ्रम रहेकाले भ्रममा नपरी निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरे। उनले वर्षैैपिच्छे लगातार छ पटकसम्म औषधि सेवन गरे मानिसको शरीरबाट हात्तीपाइलेको परजीवी समाप्त हुने र सर्ने सम्भावना न्यून हुने बताए। 

हात्तीपाइलेको औषधि ७० वर्ष कटेका, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो र मिर्गौला रोगी तथा छारे रोगीले सेवन गर्न नहुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell