PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सरकारलाई एडिबीको पत्र : झलनाथ खनाल-पुत्रको कम्पनीलाई हटाऊ



प्रभात भट्टराई

सरकारलाई एडिबीको पत्र : झलनाथ खनाल-पुत्रको कम्पनीलाई हटाऊ

काठमाडौँ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दाता एसियाली विकास बैंक (एडिबी) ले काममा अवरोध गर्ने कम्पनीलाई तत्काल ‘सब-कन्ट्र्याक्टर’बाट हटाउन सरकारलाई पत्र लेखेको छ।
 
पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको कम्पनीले चिनियाँ ठेकेदारबाट ‘सब-कन्ट्र्याक्टर’ जिम्मेवारी लिए पनि काममा भाँजो हालेपछि एडिबीले सरकारलाई चिट्ठी लेखेको हो।
 
दुई वर्षदेखि नै विभिन्न बहानामा अवरोध गर्दै आएको ‘सब-कन्ट्र्याक्टर’ नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिलाई तत्काल हटाउन सुझाव सहित एडिबीले सरकारलाई चिट्ठी लेखेको छ। 
यो कम्पनीको सञ्चालकमा निर्भिक सहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ, पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत ७ जना संलग्न छन्।
 
आयोजनाको ठेकेदार चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले कुनै मापदण्ड पूरा नगरी निर्भिकको कम्पनीलाई ‘सब-कन्ट्र्याक्टर’ नियुक्त गरेको थियो। 

‘सब-कन्ट्र्याक्टर नियुक्तिको अन्तर्राष्ट्रिय प्रावधान हुन्छ, एडिबीका कन्ट्री डाइरेक्टर केनिची योकोयामाले भने, 'गौतमबुद्ध विमानस्थलको ठेकेदारले सब-कन्ट्र्याक्टर नियुक्तिताका ती कुनै पनि मापदण्ड पूरा गरेको थिएन।’  
 
‘सब-कन्ट्र्याक्टर’ नियुक्त गर्नुअघि विश्वासिलो इन्जिनियरिङ कन्सलटेन्टसँग परामर्श गर्नुपर्नेमा सिधै छनौट गरिएको उनले बताए। ठेकेदार कम्पनीले राजनीतिक दबाबमा यस्तो निर्णय गरेको हुँदा अब उसैले सल्टाउनुपर्ने योकोयामाको भनाइ छ।
 
आफूले सरकारलाई लेखेको चिट्ठीको बोधार्थ चिनियाँ ठेकेदारलाई समेत दिएको उनले जानकारी दिए। ‘सब-कन्ट्र्याक्टिङको कुनै ब्ल्याक एन्ड ह्वाइट डकुमेन्ट समेत छैन,' उनले भने, 'त्यसैले ठेकेदारले यो सब-कन्ट्र्याक्टरलाई गुडबाई भन्छ भने हामी स्वागत गर्छौँ।’  निर्भिकको कम्पनीलाई तत्काल हटाएर अन्तर्राष्ट्रिय मान्यता बमोजिम नयाँ ‘सब-कन्ट्र्याक्टर’ नियुक्त गर्नुपर्ने उनको भनाइ छ।
 
दुई वर्षअघि आयोजना सुरु गर्दा नेपालका धेरै निर्माण व्यवसायमा संलग्न कम्पनीले ‘सब कन्ट्र्याक्टर’बन्न कोसिस गरेको थिए। त्यसमध्ये एमाले केन्द्रीय नेतृत्वको प्रत्यक्ष हस्तक्षेपमा निर्भिकको कम्पनी ‘सब कन्ट्र्याक्टर’ छानिएको थियो। कम्पनीले आयोजना लागि गिट्टी, ढुङ्गा, बालुवा लगायत निर्माण सामग्री सप्लाई गर्ने सहमति भएको थियो। झलनाथका साला विश्व चित्रकार चाइनिज ठेकेदारको सिभिल तर्फको म्यानेजर थिए। यही सम्बन्धको बलमा निर्भिकले ‘सब कन्ट्र्याक्टर’ हत्याएको स्रोतले जानकारी दियो।
 
सुरुमा पेस्की बापत १० करोड रुपैयाँ लिएको कम्पनीले बीच बीचमा बखेडा झिक्दै आएको थियो। पछिल्लो दुई साता देखि निर्माण सामग्री सप्लाई ठप्प गरेको छ। थप १० करोड रुपैयाँ नदिइ सप्लाई नगर्ने निर्भिकको कम्पनीको दाबी छ। यस कारण साता यता एयरपोर्ट निर्माणनै रोकिएको छ।

सन् २०१७ भित्र सम्पन्न गर्ने लक्ष लिइएको राष्ट्रिय गौरवको आयोजना ‘सब कन्ट्र्याक्टर’ले भाँजो हालेपछि अनिश्चित समेत बनेको छ। क्षेत्रीय स्तरमा उडान गर्ने एवं लुम्बिनी लक्षित पर्यटन विकासको उद्देश्य सहित उक्त विमानस्थलको स्तरोन्नति सुरु गरिएको थियो। एडिबीको लगानीमा निर्माणाधीन आयोजनाको लागत साढे ९ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ।
 
यसैबीच स्थानीय सप्लायरको रुपमा रहेको ‘सब कन्ट्र्याक्टर’ले दु:ख दिएपछि नयाँ शिराबाट काम अघि बढाउने बारे छलफल गर्न चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनका भाइस प्रेसिडेन्ट आइतबार नेपाल आइपुगेका छन्।
 
उनी पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको टोली सहित आइतबार नै भैरहवा गएका थिए। त्यहाँ आज दिनभर वार्ता भए पनि निष्कर्ष निस्किएको छैन।
 
निर्भिकको कम्पनीले काममा भाँजो हाल्न नछाडे ठेक्का तोड्ने ‘मुडमा’ चिनियाँ पक्ष पुगेको स्रोतले बतायो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell