इलाम : माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ।
मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका कार्यक्रम संयोजक होम ढकालले जानकारी दिए।
माइती नेपालका अनुसार उद्धार गरिएका सबै महिला गोरखाको उहियाका रहेका छन्। महिलालाई कुवेत र पाकिस्तानमा रोजगारीका लागि लैजाने भनेर एकै दिनमा काठमाडौँबाट राहदानी बनाई ल्याइएको ढकालले बताए।
भारतीय प्रहरी र स्थानीय महिलाको सहयोगमा माइती नेपाल पशुपतिनगरले ती महिलालाई उद्धार गरेको हो। महिलालाई छब्बिसेको बाटो भएर आउनु भारतमा लिन आउँछु भनेकाले दलाल भने पक्राउ गर्न नसकिएको माइती नेपालले जनाएको छ।
उद्धार गरिएका महिलालाई माइती नेपाल पशुपतिनगर आवधिक गृहमा राखेर आफन्तको जिम्मा लगाइने संयोजक ढकालले बताए।