काठमाडौँ : गोकर्णमा सरकारले निर्माण गर्न लागेको राष्ट्रिय सहिद स्मारकको काम ७० प्रतिशत सम्पन्न भएको छ। यस पार्कको मुख्य आकर्षण सहिद स्मारकको लगभग ९० प्रतिशत काम पूरा भैसकेको निर्माण पक्षले जनाएको छ।
लक्ष्यअनुसार त पार्क २०७१ सालको वैशाखमै तयार हुनुपर्ने थियो। तर परियोजनाको निर्माण अवधि लम्ब्याएर २०७७ सालसम्ममा पूरा गर्ने लक्ष्य तय गरिएको छ। पार्कको सम्पूर्ण निर्माण ०७२ सालको चैत मसान्तसम्ममा सक्ने गरी परियोजना सुरु भए पनि यो सकिन अझै चार वर्ष लाग्ने पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए।
भूकम्प, नाकाबन्दीजस्ता कारण देखाउँदै पार्क निर्माणमा ढिलाइ भएको हो। वन मन्त्रालयसंग रुख काट्नकालागि अनुमति लिन नसक्दा पनि ढिलाइ भएको मन्त्रालयतर्फका आयोजना प्रमुख ध्रुवप्रसाद पौडेलले जानकारी दिए।
पार्कमा हरियाली बनाउने,रङ रोगन गर्ने, स्लेटमा सहिदका नाम राख्ने लगाएतका काम भने बाँकी छन्। सहिद संग्रहालयको काम पनि लगभग सम्पन्न हुने चरणमा पुगेको छ। सहिदका नामावलीको दस्तावेज तयार पार्ने,रङ लगाउने, आन्तरिक साजसज्जाको काम बाँकी रहेको निर्माण पक्षले बताएको छ। यसैगरी द्वन्द्व कालमा भेटिएका सहिदका सामाग्रीहरु समेत संग्रहालयमा यसमा राखिने छ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत कुल ४६ करोड ७१ लाखको बजेटमा निर्माण हुन लागेको यो सहिद तथा शान्ति पार्क पाँचवटा प्याकेजमा काम थालिएको छ।
पहिलो प्याकेजमा पैदल मार्ग,पानी ट्याङकी तथा सत्तल, ढल, गेट तथा गार्ड,पार्किङ क्षेत्र,सार्वजिनक शौचालय बनाइने छ। दोस्रो प्याकेजमा स्मृति स्मारक,शान्ति स्मृति बनाइने छ। तेस्रो प्याकेजमा सूचना केन्द्र, रेष्टुरा, हल, पसल तथा कार्यालय सामुदायिक भवन बनाइने छ। चौथो प्याकेजमा मूर्तिस्थल, सहिद पार्क, शान्ति स्तुपा चैत्यहरु तथा बगैँचा बनाइने छ।
पाँचौं प्याकेजमा पिकनिक स्पट, भ्यूटावर, खानेपानी, तारबार, आन्दोलन पार्क, टिकटघर, भजन मण्डली आदि बनाइने पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए।
जगडोलमा रहेको यज्ञडोल सामुदायिक बनको ६५० रोपनी क्षेत्रफलमा सहिदका नाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्ति तथा पुननिर्माण परियोजनाअन्तर्गत स्मारकको काम तीव्र गतिमा भइरहेको कार्यदलका सहकोषाध्यक्ष राजेशकुमार विष्टले बताए।
पार्कलार्इ चार क्षेत्रमा छुट्याएर यसको निर्माण भैरहेको छ। स्मारकको ६५० रोपनी क्षेत्रफलमध्ये १५ रोपनीलार्इ धार्मिक क्षेत्र, सहिदको स्मृति ७२ रोपनीमा, १७२ रोपनीमा मनोरञ्जन क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र र ३३९ रोपनीमा संरक्षित क्षेत्र गरी गुरुयोजना निर्माण गरिएको छ।
धार्मिक क्षेत्रअन्तर्गत ऐतिहासिक भगवती मन्दिरको संरचना तयार भएको छ।
पार्क क्षेत्रमा हेलिप्याडसमेत बनाइएको छ। यस्तै पर्यटकहरुका लागि सुविधासम्पन्न होटल पनि तयार हुँदै गरेको छ। पार्क जाने बाटो पनि पक्की बनाइएको छ। २०७७ सालको वैशाखसम्ममा पार्क निर्माण सम्पन्न हुने निर्माण पक्षको दाबी छ।
मन्त्रीपरिषद्को २०६४ जेठ ११ गते र सामाजिक समितिको २८ जेठको निर्णयअनुसार गोकर्णमा राष्ट्रिय सहिद तथा शान्ति निजामती स्मारक निर्माण थालिएको हो।