PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अरुकै बैंक खाताबाट अनधिकृत रुपमा ४ करोड निकाल्ने ८ जना सार्वजनिक



सविन ढकाल

अरुकै बैंक खाताबाट अनधिकृत रुपमा ४ करोड निकाल्ने ८ जना सार्वजनिक

काठमाडौं : विभिन्न बैंकका डेविट, क्रेडिट, प्रिपेड लगायतका कार्डको कीर्ते गरी स्वाइप मेसिनबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
 
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको हो।
 
पक्राउ पर्नेहरुमा ललितपुरका ३१ वर्षीय केवलबहादुर जबरा, ३१ वर्षीय अभिषेक पाण्डे, काठमाडौंका ३४ वर्षीय सुरेश केसी, ३० वर्षीय अनुज नकर्मी, २३ वर्षीय रोसन महर्जन, २३ वर्षीय रोमन मर्जन, ललितपुरका ३२ वर्षीय विजय लामा दोङ र २९ वर्षीय नदिम खान  रहेका छन्। उनीहरुले व्यापारीहरुसँग मिलेर स्वाइप मेसिन भएका पसलबाट दैनिक ५ देखि १० लाखसम्म झिक्ने गरेका थिए।
 
नबिल बैंकका साथै अन्य बैंकका खाताबाट उनीहरुले ४ करोडभन्दा बढी रकम झिकेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए। 'यसरी झिकेको रकम मध्ये ६० प्रतिशत आफू र बाँकी व्यापारीलाई दिने गरेको पाइयो,' उनले भने। उनीहरुले सिटी सेन्टरमा रहेको एडिडास शोरुमको स्वाइप मेसिनबाट प्रत्येक दिन १० लाख र उपत्यकाका क्यासिनोबाट प्रत्येक दिन ५० लाख निकाल्ने योजना रहेको अनुसन्धानमा खुलेको अमात्यले बताए।
 
यसरी झिकेको रकम विलासी वस्तुमा खर्च गर्ने गरेको प्रहरीको भनाइ छ।
 
यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरोले अरुको एटिएम कार्डबाट रकम झिक्ने ९ जना विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell