धनगढी : कैलालीमा तीन वर्षको अवधिमा ७१ हजार २३८ नयाँ मतदाता थपिएका छन्।
२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ३३ हजार ६६१ मतदाता रहेको थिए। अहिले उक्त सङ्ख्या चार लाख चार हजार ८९९ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका २३२ ठाउँमा मतदानस्थल तोकिसकेको छ। २०७० मा भएको संविधान सभा निर्वाचनमा जिल्लाभरि २१७ वटा मतदानस्थल तोकिएको थियो। कार्यालयले आगामी केही दिनमा मतदाता शिक्षा प्रशिक्षक तालिमका साथै सामग्री व्यवस्थापनलगायत तालिम प्रदान गर्न लागेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए।
स्थानीय तहको निर्वाचन धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरिया, मोहन्याल, कैलारी, जोशीपुर र चुरे गाउँपालिकामा हुनलागेको हो।
साविकमा कैलालीमा एक (धनगढी) उपमहागरपालिका, पाँच नगरपालिका र २८ गाविस रहेकोमा नयाँ संरचनामा एक उपमहानगरपालिका (धनगढी), छ वटा नगरपालिका र छवटा गाउँपालिकामा विभाजन गरिएको छ। रासस