काठमाडौँ : स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ।
स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो। सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन गर्नुपर्ने भएकाले कार्यकारीप्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले उक्त लिपि हटाएका थिए।
विभिन्न पक्षबाट पुनः लिपि राख्नुपर्छ भन्ने माग आएपछि काठमाडौँ महानगरपालिका बोर्ड बैठकको निर्णयअनुसार लेटर प्याडमा रञ्जना लिपि पुनः प्रयोग गर्ने सहमति भएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए।
लिपि हटाएको विषयलाई लिएर स्थानीयवासीले मुलुकको राष्ट्रिय पहिचानसमेत गुमेको भन्दै स्थानीय नरेशवीर शाक्यको संयोजकत्वमा आन्दोलनसमेत गरेका थिए। हटाइएको लिपि र लोगोलाई नेपाल संयुक्त राष्ट्रसंघमासदस्य बन्दादेखि नै नेपालको मौलिक लिपिका रुपमा दर्ता गरिएको थियो। रञ्जना लिपि खासगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रयोग गर्दै आएका छन्। रासस