काठमाडौँ : गत १७ फागुनमा संसदमा बहुला कुकुरको विषयमा बहस भयो। नेकपा मालेका सांसद सिपी मैनालीले ‘प्रधानमन्त्रीलाई बहुला कुकुरले टोकेको’ आरोप लगाए।
उनको आरोपको संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिवाद गरे। तर मैनालीले फेरि पनि ‘बहुला कुकुरले टोकेपछि जो पनि बहुलाउँछ, मलाई टोके म पनि बहुलाउँछु’ भन्दै व्यङ्ग्य कायम नै राखे। लगत्तै संसदमा होहल्ला भयो।
सभामुखले रुलिङ गरिन्– 'संसदको रेकर्डबाट ‘बहुला कुकुर’ शब्द हटाउनू।'
संसदमा यस्ता धेरै विषयहरु रेकर्डबाट हटेका छन्। कांग्रेस सांसद् अमरेशकुमार सिंहले केपी ओली प्रधानमन्त्री भएका बेला गरेको टिप्पणीले एमालेलाई आक्रोशित तुल्यायो। ‘प्रधानमन्त्रीको मानसिक अवस्था ठिक नभएको’ टिप्पणी अमरेशले गरेपछि एमाले सांसद् कृष्णभक्त पोखरेलले नियमापत्ति सहित विरोध जनाए।
सभामुख ओनसरी घर्तीले लगत्तै ‘शब्दावली मेट्न' आदेश दिइन्।
संसदमा सभामुखबाट थुप्रै यस्ता शब्द रेकर्डबाट हटाउन आदेश हुने गरेको छ। संसदमा मर्यादित शब्द प्रयोग नभए हटाउन आदेश हुने गरे पनि त्यस्तो रेकर्ड कहाँ रहन्छ र कहाँबाट हट्छ भन्नेबारे धेरै अनभिज्ञ छन्।
सदनमा सभामुखको बायाँतिर रेकर्डिङ शाखा छ। शाखाले संसदमा सांसदहरुका भनाइदेखि सबै प्रक्रियालाई रेकर्डमा राख्ने गर्छ। तर, अचम्म लाग्ने विषय त्यस्तो रेकर्ड भने अझै ‘टेप रेकर्डिङ’ गरिन्छ। अर्थात् अझै म्याग्नेटिक टेप रेकर्डमै संसदको रेकर्ड राखिन्छ।
संसदको बैठक मात्र होइन संसदीय समितिहरुमा समेत अझै पुराना क्यासेटहरुमा प्रयोग हुने म्याग्नेटिक टेप रेकर्ड नै प्रयोग हुन्छ।
'लेखा समितिको एनसेलका विषयमा भएको एउटा बैठकको रेकर्ड चाहिएको थियो। मैले रेकर्ड मागेँ। तर मलाई त्यो ‘रिलवाला’ टेप ल्याउन भनियो। बजारभरि खोज्दा पनि पाइएन,' अंग्रेजी दैनिक माई रिपब्लिकाका पत्रकार अशोक दाहाल सुनाउँछन्, 'संसद् सचिवालयमा मात्र त्यस्तो टेप ठेक्का मार्फत ल्याइने रहेछ। बजारमा नपाइने वस्तुमा संसद् सचिवालयले काम गर्दो रहेछ। मैले रेकर्ड लैजान सकिनँ।’
संसद् सचिवालयका प्रविधि व्यवस्थापन महाशाखाका सहसचिव मुरारी महत भने आफूहरुलाई यसबारे भन्न पनि लाज लाग्न थालिसकेको बताउँछन्। 'अझै म्याग्ननेटिक टेपमा नै रेकर्ड हुन्छ। त्यसले उतार्न समेत अप्ठेरो पर्ने गरेको छ,’ उनी सुनाउँछन्।
संसदको रेकर्डिङ सिस्टमबाट उतार्न समेत समस्या हुने गरेको छ। व्यवस्थापिका संसदका पुराना रेकर्डहरु अझै उतारेर सकिएका छैनन्। पहिलो र दोस्रो संविधानसभाको बैठकको रेकर्ड भने संसद् सचिवालयले उतारेर पुस्तकको रुप दिएको छ।
संविधानसभा बैठकको रेकर्ड उतार्ने कार्यको नेतृत्व गरेका सचिवालयका सहसचिव रोजनाथ पाण्डे सुनाउँछन्, 'एक सय ३६ बैठकको अडियो उतार्न चार महिना समय लाग्यो।’ संविधानसभाको रेकर्ड उतार्ने क्रममा समस्या भएपछि पुरानो क्यासेट खोजेर रेकर्ड उतार्नुपरेको अवस्था सुनाउँछन् पाण्डे।
त्यसो त संसद् सचिवालयले अहिले टेलिभिजनहरुलाई ‘आउटपुट’ दिन र प्रत्यक्ष प्रसारणमा सहयोगका लागि भिडियो उपलब्ध गराउँदै आएको छ। भिडियो राख्ने गरेको भए पनि त्यसको आर्काइभ कहाँ छ भन्नेबारे संसद् सचिवालय जानकार छैन। संसद सचिवालयले पनि भिडियो इकाइबारे सम्पर्क गर्ने गरेको छैन।
संसद् सचिवालयले युट्युब मार्फत संसदका बैठकहरुको लाइभ स्ट्रिमिङ र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको छ। त्यसका लागि करारका कर्मचारी समेत राखिसकेको छ। संसद् सचिवालयका कर्मचारीलाई विदेशी दाता संस्थाले तालिम पनि उपलब्ध गराएको छ।
तर संसद सचिवालयमा भर्ना गरिएका नयाँ कर्मचारी भने क्यामेराको भिडियो कसरी कम्युटरमा छिर्छ भन्नेमै अझै अध्ययनरत छन्।
राष्ट्रपति र प्रधानमन्त्री निर्वाचनदेखि राजनीतिक इतिहासको रेकर्ड बन्ने महत्वपूर्ण थलो संसदको रेकर्ड भने व्यवस्थित छैन।