
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि सिफारिसमा परेका राजदूतहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्ले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादका कारण स्पेन र युएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो। दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नामा सिफारिस भएको थियो।
१२ देशका लागि सिफारिस गरेकामध्ये तीन प्रस्तावित राजदूतमाथि चार उजुरी संसदीय सुनुवाइ समितिमा परेका थिए। उजुरी परेका राजदूतहरुमाथि सुनुवाइ सकेर समितिले उनीहरुको सिफारिस अनुमोदन गरेको हो।
कतार, ओमन र इजरायलका लागि प्रस्तावित तीन राजदूतको सिफारिस अस्वीकृत हुनुपर्ने मागसहित ती उजुरी दर्ता भएका हुन्। उजुरी परेका प्रस्तावित राजदूतमा रमेशप्रसाद कोइराला, शर्मिला पराजुली ढकाल, र निरञ्जन थापा थिए। अन्य ९ प्रस्तावित राजदूतमाथि उजुरी परेका थिएनन्।
कतार र ओमनका लागि प्रस्तावित कोइराला र पराजुलीविरुद्ध व्यवसायिक स्वार्थ जोडिएको, राजदूत भएर जाने देशमा नै कामदार पठाउने गरेको आरोप लगाइएको छ। सुरक्षित आप्रवासनसम्वन्धी काम गर्ने एक गैरसरकारी संस्थाले उक्त उजुरी दर्ता गरेको छ।
पराजुलीका श्रीमानको नाममा दर्ता रहेको फ्लोरिड हुमेन रिसोर्सेजका नाममा श्रम विभागमा २४ उजुरी रहेको विवरण उजुरकर्ताले पेश गरेका थिए।
इजरायलका लागि सिफारिसमा परेका निरञ्जन थापाविरुद्ध एक उजुरी परेको थियो। थापालाई मल्लिक आयोगले कारबाही सिफारिस गरेकाले मर्यादित कूटनीतिक क्षेत्रमा नियुक्ति गर्नु उपयुक्त नहुने उजुरीकर्ताले माग गरेका थिए। राष्ट्रिय पञ्चायत सदस्य रहदा थापाले हुकुम प्रमाङ्गीबाट श्रीमतीलाई जागिर लगाएको आरोप पनि उनीमाथि लगाइएको थियो।
सरकारले दुई नाम फिर्ता गर्दै फागुन १९ गते १२ जनाको नाम सुनुवाइका लागि पठाएको थियो।
कोको छन् सिफारिसमा
भीम उदास – म्यान्मारडा. चोपलाल भुसाल – बंगलादेश
प्राडा विश्वम्भर प्याकुरेल – श्रीलंका
अर्जुनजङ्गबहादुर सिंह – दक्षिण कोरिया
रमेशप्रसाद कोइराला – कतार
लक्की शेर्पा – अस्ट्रेलिया
युवनाथ लम्साल – डेनमार्क
प्राडा महेन्द्रप्रसाद सिंह राजपुत – साउदी अरेबिया
पदम सुन्दास – बहराइन
प्रतिभा राणा – जापान
निरञ्जन थापा – इजरायल
शर्मिला पराजुली ढकाल - ओमन