काठमाडौं : बिहीबारदेखि चीन भ्रमणमा रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेटे पनि सन्धि-सम्झौतामा हस्ताक्षरको कार्यक्रम छैन।
बोवाओ फोरमको सम्मेलनमा सहभागी हुन उनी बिहीबार चीन प्रस्थान गर्दैछन्। सम्मेलन भाग लिई उनले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति जिनपिङलाई भेट्ने कार्यक्रम छ। यो भेटमा चीन-नेपालबीच केही सन्धिसम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिए पनि कुनै पनि हस्ताक्षर नहुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
'प्राविधिक कारणले यो भ्रमणमा कुनै पनि सन्धि-सम्झौतामा हस्ताक्षरको कार्यक्रम छैन,' भ्रमण कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार भेटघाटमा उनले भने, 'चीनका प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री अस्ट्रेलिया, न्युजिल्याण्डतिर रहनुभएकाले पनि अहिले कुनै सम्झौता नहुने भएको हो।'
केपी ओली नेतृत्वको सरकारले रेलमार्ग लगायत पारवहन सम्झौताबारे पत्रकारले राखेको जिज्ञासामा मन्त्री महतले 'रेलमार्ग बनाउँछु भन्नु र कार्यान्वयन गर्नुमा धेरै अन्तर रहेको बताए। 'धेरै कठिन विषय हुन् यी,' उनले भने, 'सर्वे, डिपिआर लगायतका प्रोसेस छन्। चरण चरणमा वार्ता हुनुपर्यो।'
राष्ट्रपति जिनपिङसँगको भेटमा प्रधानमन्त्रीले आपसी सहयोगबारेका कुरा गर्ने उनले जानकारी दिए। तत्काल सम्झौता हुन नसके पनि अरु भेटमा मुख्यत: पाँच विषयलाई प्राथमिकता दिइने मन्त्री महतको भनाइ छ।
'ट्रान्सिमसन लाइन, लगानी, क्रस बोर्डर इकोनोमिक जोन, ओबिओआर (एक क्षेत्र, एक मार्ग) र कोदारी-रसुवागढी बाह्रै पहिना सञ्चालन गर्ने गरी चीनसँग सम्झौता गर्नेबारे हाम्रो गृहकार्य भइरहेकै छ,' उनले भने। चीन जानुअघि नै आफूहरुले यसबारे गृहकार्य गरे पनि चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्रीको अनुपस्थितले अहिले ती विषयमा सम्झौता हुन नसक्ने उनले प्रस्ट पारे।