PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बालविवाहका कारण महिलामा मानसिक समस्या



रासस

रुकुम : बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन्।

बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन। जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन्। यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ। बहुविवाह र सम्बन्धविच्छेदका घटनासमेत बढ्दै गएका छन्।

बालविवाहकै कारण कतिपय महिलाले आत्महत्यासमेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउँछिन्। बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उनले जोड दिइन्। अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले बताइन्।

गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा मिलाउने तथा प्रहरीसम्म पुगे पनि लेनदेनमा कुरा मिलाउने प्रचलन रहेको छ। बालविवाहसम्बन्धी मुद्दा चलाउन समस्या रहेको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी बताउँछन्। 'दुवैपक्षको सहमति भएपछि मुद्दा चलाउन समस्या हुने गरेको छ,' उनले भने।


महिला हिंसाका ८४ उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवमा महिला हिंसा सम्बन्धिका ८४ वटा उजुरी दर्ता भएका छन्।

प्रहरीका अनुसार छवटा बहुविवाह, चारवटा आत्महत्या, नौवटा जबर्जस्ती करणी, तीनवटा जबर्जस्ती करणी उद्योग र ६३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। बालविवाह न्यूनीकरण र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनालाई निरुत्साहित पार्न सबैको सहयोग अपरिहार्य हुने प्रहरी नायब उपरीक्षक जिसी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell