
काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन्।
चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको हो। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
चिनियाँ रक्षामन्त्रीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछन्। रक्षामन्त्री खाँण र चाङबीच रक्षा मन्त्रालयमा भेटवार्ता हुने कार्यक्रम रहेको रक्षा मन्त्रालयले जनाएको छ।
चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम पनि छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार शीतल निवासमा शिष्टाचार भेट गर्नेछन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सोही दिन भेटवार्ताको कार्यक्रम छ। सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पनि उनले भेट्नेछन्।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुनेछ।