PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

देशकै पुरानो सामुदायिक पुस्तकालय सङ्कटमा, पाठक आउनै छाडे



रासस

दमक : देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ। 

२००९ सालमामा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो। यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ। अचेल बिहान–बेलुका राष्ट्रिय र स्थानीय पत्रपत्रिका पढ्न आउने बाहेक पुस्तकालयमा अरु किताब पढ्न कोही नआउने गरेको स्थानीय हेमसागर अधिकारी बताउँछन्।

पुस्तकालयको वार्षिक आम्दानी रु ४६ हजार रहेको छ। यहाँ पुराना उपन्यास र ऐतिहासिक किताब राखिएका छन्। पुस्तकालयका कर्मचारी सरिता घिमिरेले बिहान ७ बजेदेखि ९ बजे तथा बेलुका ४ देखि ६ बजेसम्म पुस्तकालय खोल्ने गरेको बताइन्। 

'पुस्तकालयको व्यवस्थापन हुन नसक्दा यहाँ आउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको छ,' उनले भनिन्। पुस्तकालयमा हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका गरी एक हजारभन्दा बढी पुस्तक रहेका छन्। 

तत्कालीन समयमा कर्णेल भक्तबहादुर बस्नेत, दौलतविक्रम विष्टलगायतको पहलमा उक्त पुस्तकालय स्थापना गरिएको थियो। दुई कोठे भवनमा रहेको सो पुस्तकालयको नाममा बैगुनधुरामा चार बिगाहा जग्गा समेत रहेको छ। 

पुस्तकालयका उपाध्यक्ष नवीन जोशी पुस्तकाललाई व्यवस्थित गर्न नसकिएको स्वीकार्छन्। पुस्तकालयलाई पठनीयस्थलका रुपमा जीवन्त दिन यस क्षेत्रका व्यवसायी तथा सरोकारवालाले मासिक रु २० तिरेर पाठक बन्ने गरेका उनले बताए।

पुस्तकालयलाई बैगुनधुराको जमिनबाट वार्षिक रु ३५ हजार तथा घुम्तीबाट वार्षिक करिब रु ११ हजार आम्दानी हुन्छ। तर व्यवस्थापन समिति सक्रिय नहुँदा पुस्तकालय सङ्कटमा परेको स्थानीय शेरबहादुर शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell