PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

पाँच गैंडा चितवनबाट बिदा हुँदैछन्



रासस

पाँच गैंडा चितवनबाट बिदा हुँदैछन्

रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जबाट यही चैत २१ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ। 

शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि दुई भालेगै‌डा सहित पाँच वटा गैँडा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। गैँडा स्थानान्तरणको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन ल्याइनेछ। 

उक्त विषयमा आज चितवनको सौराहामा तयारी बैठक सम्पन्न भएको छ। स्थानान्तरण प्रक्रियाका लागि आवश्यक तयारी गरिएको कँडेलले बताए। यसका लागि विभिन्न टोली बनाएर जिम्मेवारी बाँडफाँड गरिएको छ। समग्र व्यवस्थापन र अनुगमनको जिम्मा प्रमुख संरक्षण अधिकृत कँडेल र प्राविधिक टोलीको नेतृत्व वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले गर्नेछन्।

दुर्लभ एकसिङ्गे गैँडा स्थानान्तरणका लागि करिब १०० जना परिचालन हुने निकुञ्जले जनाएको छ। अघिल्लो वर्ष फागुनको तेस्रो साता निकुञ्जबाट पाँच वटा गैँडा बर्दिया पठाइएको थियो। तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैँडा स्थानान्तरण गरिने यस अघि निर्णय गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

यसअघि पटकपटक गरेर बर्दियामा ८३ वटा गैँडा पठाइएको थियो। मुलुकभर ६४५ गैँडा गणना गरिएकामा चितवनमा मात्रै ६०० रहेका छन्। बर्दियामा ३४ गैँडा रहेका छन्। सरकारले चीनमा समेत गैँडा पठाउने तयारी गरेको छ भने बर्दियामा थप गैँडा पठाउने योजना छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell