
काठमाडौं : व्यवसायीको अपहरण र युवतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरका २४ वर्षीय किशोर गिरी र २७ वर्षीय सरोज घोरासैनी रहेका छन्।
२५ वर्षीय युवती धादिङकी राधिका श्रेष्ठकी प्रेमी प्रकाश लामिछाने भने फरार छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले बुधबार दुईलाई पक्राउ गरेको हो। श्रेष्ठको हत्या गरी गिरी भारत छिरेका थिए। सामाजिक सञ्जालको प्रयोग गरी प्रहरीले उनलाई गएराति नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
यसरी भयो घटना
लामिछानेकी प्रेमिका धादिङकी राधिका श्रेष्ठ व्यवसायी श्यामसुन्दर अग्रवालको पसलमा काम गर्थिन्। एकैपटक मोटो रकम हात पार्न उनीहरुले अग्रवालकै अपहरणको योजना बुने र फागुन ५ गते न्युरोडबाट अपहरण गरे।
उनीहरुले अग्रवाललाई सुन्धाराको भारत होटलमा लुकाएर राखे। परिवारसँग ८ लाख फिरौती लिएर मुक्त गरिदिए। अग्रवाल मुक्त भएकै दिन घटना खुल्न सक्ने सोचेर लामिछानेसहितले उनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा देखिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए।
घटनामा फरार लामिछानेको खोजी भइरहेको एसएसपी अमात्यले जानकारी दिए।