धनगढी : व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले केही दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको गोविन्द गौतमको हत्या घटनाबारे स्थलगत रुपमा अध्ययन गरेको छ।
टोलीले घटनास्थलको निरीक्षण अध्ययन गरी घटनामा सहादत भएका गोविन्द गौतमको परिवारका साथै र घाइते टीकाराम चापागाईँलाई समेत भेटेको टोलीमा सहभागी सांसद प्यारेलाल रानाले बताए।
पुनर्वासको आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर निधन भएका गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ।
सांसद धनबहादुर रायमाझीको नेतृत्वमा रहेको टोलीमा सांसद राना, राममाया बोगटी र कमलाकुमारी घिमिरे सुवेदी, सम्मिलित छन्। संसदीय टोलीले सुरक्षा निकायलगायतसँग छलफल गरी सीमा विवाद, घटनाका कारण लगायतका विषयमा अध्ययन गर्न लागेको सांसद रानाले बताए।